तीन वटा सवारी ठोकिँदा तीन जना झापालीको मृत्यु
झापा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका-१ र ३ को तिनवटा सवारी एकआपसमा ठोकिँदा झापा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटनामा परी झापाका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा कमल गाउँपालिका-२ बस्ने बर्ष ५२ का यदुकान्त भट्टराई, कमल गाउँपालिका-४ बस्ने बर्ष ४४ की दिपा खनाल र बोलेरो चालक बिर्तामोड-२ बस्ने बर्ष ३६ का कृष्ण गजुरेल रहेका छन् ।
भट्टराईलाई अस्पताल बिराटनगर पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै खनाललाई पनि कोशी अस्पताल बिराटनगर पुयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए भने बोलेरो चालक गजुरेलको न्युरो अस्पताल बिराटनगरमा उपचारमा क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
त्यस्तै कमल गाउँपालिका बस्ने बर्ष ४८ की गायत्री भट्टराई र वडा- ४ बस्ने बर्ष ४६ का हरि खनालको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । गायत्रीको हात खुट्टामा चोट लागेको छ भने हरिको हात खुट्टा र टाउकोमा चोट लागेको छ । उनको अबस्था गम्भीर रहेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । मृत्यु र घाइते हुनेहरु बोलेरोमा सवार थिए ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै जाँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको हो ।बोलेरो बसको पछिपछि जाँदै थियो।
दुर्घटनापछि टिपर चालक मोरङ सुन्दरहरैचा ७ बस्ने बर्ष २३ का चन्द्रबहादुर बिक, बस र बस चालक सुन्दरहरैचा १२ बस्ने बर्ष ४५ का छत्रकुमार मास्केलाई नियन्त्रणमा लिई ईप्रका बेलबारीमा ल्याई राखेको र टिपर र बोलेरो घटनास्थलमा रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिएका छन् ।