कोशीमा ढल्न सक्छ केदार कार्कीको सरकार, आफैँ खनेको खाल्डोमा पर्दै मुख्यमन्त्री कार्की
इन्द्र आङ्बो मुख्यमन्त्री बन्ने सम्भावना
झापा । कांग्रेससहितको गठबन्धनमा दरारको सुरुवात कोशीबाटै भयो । गत असोजमा कोशीमा एमालेको सत्ता ढलेसँगै माओवादीले उसको कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो मौसमलाई मुख्यमन्त्रीका लागि अघि सार्यो । मौसमलाई गठबन्धनले समर्थन गर्यो ।
तर, कांग्रेसको शेखर कोइराला समूहले धोका दियो । कांग्रेसकम आठ सांसदले विद्रोह गर्दै २७ मंसिरमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाए । संविधानको धारा १६८ (५) अनुसार संसदमा बहुमत पुर्याउने सांसदले सरकार बनाउने प्रावधान छ । यो धाराका कारण कांग्रेसले कार्कीसहित आठ सांसदलाई कारबाही गर्न सकेन । बरू उल्टै गठबन्धनले समर्थन गर्यो ।
तर, माओवादीले धोका पायो । यो धोकाबाट माओवादी केही हदसम्म हच्कियो । गत माघमा भएको राष्ट्रियसभा निर्वाचनमा केदार कार्कीको समूहले माओवादीलाई फेरि धोका दियो । माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउन प्रमुख भूमिका खेल्यो कार्की समूहले । यो घटनापछि माओवादी कांग्रेससँग सन्तुष्ट थिएन । यी र यस्तै कारण केन्द्रको गठबन्धन पनि भत्किएको छ ।
माओवादीलाई बारम्बार धोका दिएर केदार कार्कीले खनेको खाल्डोमा उनी आफैँ पर्ने भएका छन् । गठबन्धन परिवर्तनसँगै कार्कीको सरकार ढल्ने निश्चित छ । संसदले सरकार बनाउने अवस्था रहिञ्जेल मध्यावधि हुने देखिँदैन । संवैधानिक व्याख्या पनि यही छ ।
संविधानको धारा १६८ (५) अनुसार अब एमाले-माओवादी गठबन्धनले कोशीमा नयाँ सत्ता बनाउनेछ । यसअघि पनि धोका पाएका कारण यसपटक माओवादीका इन्द्र आङ्बोलाई पार्टीले न्याय गर्ने निश्चित छ । अब आङ्बो नयाँ मुख्यमन्त्री बन्ने बताइन्छ ।