सिलगुडीमा रेल दुर्घटनामा परी भद्रपुरका शर्माको मृत्यु
झापा । भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका-५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ । शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी थिए । उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए ।
घर फर्किनका लागि उनी दिउँसो सवा २ बजे सिलगुडी जंक्सन पुगेका थिए । जंक्सन पुग्दा कटिहार-सिलगुडी इन्टरसिटी एक्सप्रेस ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेका थिए । उनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर दुर्घटनामा परेका थिए । रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए ।
उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर ल्याउने र मेची नदीमा दाहसंस्कार गरिने भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिए ।