एमाले झापाको एघारौं अधिवेशनः अध्यक्षमा ढुंगेलको पल्ला भारी
झापा । नेकपा एमाले जिल्ला कमिटी झापाको एघारौं जिल्ला अधिवेशन आज पार्टी अध्यक्ष केपि ओलीले बिर्तामोडमामा उद्घाटन गरेर सुरु हुँदैछ ।
एमाले झापाको नेतृत्वका लागि दुई नेताहरु आकांक्षी देखिएका छन् । जिल्ला अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिवकुमार ढुंगेलले आकांक्षा व्यक्त गरिरहेका छन् । ती दुईमध्ये ढुंगेललाई कार्यकर्ताले रुचाएको पाइन्छ ।
झापाको नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी रहेको एमाले झापाले जनाएको छ । गृहजिल्ला भएका कारण पनि अध्यक्ष ओलीले सर्वसम्मत गराउन प्रयत्न गर्ने केही नेताको दाबी छ । अध्यक्षका उम्मेदवारहरुले आन्तरिक रुपमा लविङ गरेपनि ओलीको सुझाव पर्खिरहेको बुझिन्छ । संसदीय मोर्चामा अहिलेसम्म अवसर नलिएको, पार्टी निर्माणमा वर्षौदेखि निरन्तर योगदान गरिरहेका ढुंगेललाई नेतृत्व प्रदान गर्नुपर्ने एमाले कार्यकर्ताहरुको तर्क छ । सहमतिमा गिरीको संभावना बलियो देखिएको छ भने निर्वाचनमा गए ७० प्रतिशत मतका साथ ढुंगेलले निर्वाचन जित्न सक्ने जित्ने आँकलन गरिएको छ । पार्टीमा ओलीको आर्शिवाद पाइरहेकोले टिकेका गिरीले आफ्नै गृह वडामा समेत एमाले पत्तासाफ बनाएको कर्यकर्ताको आरोप छ । अध्यक्ष ओलीले भने ढुंगेललाई जिल्ला कमिटिमा कुनै पनि जिम्मेवारी नदिई सहमतिका नाममा एकलौटि कमिटी घोषणा गर्ने निर्देशन दिएका छन् । ओलीले अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष असारु राजवंशी, सचिव तुलसी कार्की, उपसचिव अनिता कन्दङ्वा र खगेन्द्र नेपाललाई बनाउन निर्देशन दिएको एमाले स्रोतले बतायो ।
यस्तै उपाध्यक्षमा बद्री भट्टराई, लक्ष्मण पाठक, सचिवमा तुलसी कार्की, असारु राजवंशी, टिकाराम मंग्राती, बोधप्रसाद घिमिरे, उपसचिवमा छविलाल विश्वकर्मा, छविलाल चुडाल, पवित्रा पाठक, लिला दाहालको चर्चा छ । पदाधिकारी र अन्य समितिमा गरी ३ सयभन्दा बढी आकांक्षी देखिएका छन् ।
करिव ८ सय प्रतिनिधि हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बुझिएको छ ।