दलमा आबद्ध शिक्षक बर्खास्त गर्ने शिक्षा मन्त्रालयको ‘बोल्ड’ निर्णय
काठमाडाैं । शिक्षा मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई पदबाटै हटाउन सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बैठकले दल र तिनका क्रियाकलापमा संलग्न शिक्षकमाथि कारबाही चलाउने नीतिगत निर्णय लिएको हो । कुनै पनि दलको समितिमा रहेका शिक्षक भेटिए तुरुन्तै बर्खास्त गर्न मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई नै पत्राचार गरेको छ ।
केन्द्रले जिल्ला शिक्षा समन्वय एकाइलाई सम्बन्धित जिल्लामा रहेका शिक्षकको राजनीतिक दलमा संलग्नताबारे छानबिन गर्न निर्देशन दिएको छ । दुई साताअघि मन्त्रालयले दलमा आबद्ध शिक्षकविरुद्ध उजुरी आह्वान गरेको थियो । दुई साताको अवधिमा एक दर्जनभन्दा बढी शिक्षकविरुद्ध उजुरी परेको मन्त्रालयले जनाएको छ ।
त्यसमा थप छानबिन भइरहेको मन्त्रालयका सहसचिव प्रवक्ता केशवकुमार दाहालले बताए । उनका अनुसार कुनै पनि दलको कार्यसमिति सदस्य भएका शिक्षकलाई बर्खास्तै गरिनेछ । र, अन्य तरिकाबाट दलमा आबद्ध रहेकालाई आचारसंहिताअनुसार कारबाही गरिनेछ । ‘शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिन नपाउने कानुनी व्यवस्था छ, हामीले यसबारेमा कारबाहीका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरेका छौँ,’ उनले भने, ‘यदि दलमा आबद्धता रहेको भेटिएमा कारबाही हुन्छ ।’ नयाँ पत्रिकामा खबर छ ।