झापाका सहकारी चोरी गर्ने गिरोह इटहरीबाट समातियो
झापा । झापामा शृङखलाबद्ध रुपमा दर्जनभन्दा बढी सहकारीमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ गरिएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।
इटहरीबाट पक्राउ उनीहरुलाई झापा जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको छ । झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । उनीहरुले चोरी गरेको विवरण र पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन ।
सो समूहले चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी गरेको थियो । यसरी जिल्लाभरका दर्जन बढी सहकारीमा भएको चोरीको घटनाहरुमा उनीहरुको संलग्नता देखिएको छ ।
सहकारीहरुमा लगातार चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको थियो । संघले सहकारी दिवसमा सहकारी विरोधी विरुद्ध शक्ति प्रदर्शन समेत गरेको थियो ।