विकासजंग कार्कीले बिबाह खर्च कटाएर छात्रवृत्ति कोष स्थापना
झापा । कानुन व्यवसायी विकासजंग कार्कीले विवाहको खर्च कटाएर रोङ गाउँपालिकाका विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरेका छन् ।
अर्जुनधारा-१ निवासी बसुन्धरा फाउन्डेसनका विकासले शुक्रबार गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोसँग उक्त सम्झौता गरे ।
सम्झौता अनुसार कार्कीले दश वर्षसम्म गाउँपालिकालाई वार्षिक दश हजार उपलब्ध गराउने छन् । उक्त रकमबाट गाउँपालिकाले एसईई परीक्षामा गाउँपालिकाभित्रका सर्वोत्कृष्ट विद्यार्थीलाई दश हजार छात्रवृत्ति उपलब्ध गराउनेछ । कार्कीले प्रत्येक वर्ष नतिजा प्रकाशन भएको १५ दिनभित्र रकम उपलब्ध गराउनुपर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।
‘युवाहरू यसरी सामाजिक कार्यमा आउनुपर्छ । उहाँको सानो सहयोगले हाम्रो पालिकाका बालबालिकाको भविष्य सुधार हुन्छ,’ उनले भने, ‘ विकासजीलाई गाउँपालिकाको तर्फबाट धेरै धन्यवाद ।’
दाता कार्कीले बिबाहमा हुने तडकभडकलाई कम गरेर गाउँपालिकाका छात्रछात्राका लागि सहयोग गरेको बताए । ‘मेरो सानो सहयोगले कसैको भविष्य उज्ज्वल हुन्छ भने म त्यसका लागि सधैं तयार छु,’ उनले भने ।