इलाम–२ मा उपनिर्वाचन सुरु
इलाम । प्रतिनिधिसभा अन्तर्गत रित्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार (आज) निर्वाचन हुँदैछ । इलाम–२ मा एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् । आज हुने निर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । उनका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनका लागि बुथ निर्माण कार्यसमेत सकिएको निर्वाचन कार्यालयले जनाएका छ ।
बिहान ७ बजेबाट इलाम–२ को ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एकैपटक मतदान सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका सहायक निर्वाचन अधिकृत इन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । इलाम–२ मा एक लाख १६ हजार ८८९ मतदाता रहेका छन् । निर्वाचनका कार्यालय इलामका अनुसार उपनिर्वाचनका लागि कुल ७४५ कर्मचारी खटिएका छन् ।
यस्तै, मतदानका दिन सुरक्षाका लागि दुई हजार ५७७ जना सुरक्षाकर्मी परिचालन गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीबाट १३ सय ६३, सशस्त्र प्रहरीबाट ७१०, नेपाली सेनाबाट ४८० र राष्ट्रिय अनुसन्धानबाट २४ जना सुरक्षाकर्मी खटिएको प्रजिअ यादवले बताए
गत भदौमा यहाँका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा आयोगले तोकेको समयमा आफ्नो मतदान केन्द्र पुगेर अमूल्य मतको सदुपयोग गरी मतको महत्त्वलाई बुझेर आफूले छानेको उम्मेदवारको चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति निकाल्दै निर्वाचनको स्वच्छता र निष्पक्षतामा कहीँबाट प्रश्न उठाउन सक्ने अवस्था सृजना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा, गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटीका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सृजना गर्ने वा गराउन खोज्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।