झापामा तस्करी: `प्रहरीमार्फत नै भित्रिन्छ, प्रहरीले नै बरामद गर्छ´
काँकरभिट्टा । भारतबाट सेटिङमा भित्रिएको लाखौं मूल्यको अबैध सामान जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बरामद गरेको छ । सेटिङमा भारतबाट नेपाल भित्रिएको ५२ बोरा लत्ताकपडा बरामद गरी मुचुल्का उठाएर भन्सार बुझाउँने तयारी गरेको छ ।
कसरी भित्रियो ५२ बोरा अबैध सामान ?
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी र मेची भन्सार कार्यालयबाट खटेको टोलीले मेचीनगर६ स्थित गैरीगाउँको छुट्टाछुट्टै ठाउँबाट सोमबार राती ११ बजे सामान नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरीको टोलीले स्थानीयको एक घरको छेउमा मकैबारीमा लुकाएर राखेको अवस्थामा छापा मारेको थियो । जिल्ला प्रहरीको टोलीले इलाका प्रहरी कार्यालय काँकरभिट्टादेखि करिब एक किलोमिटरमा क्षेत्रमा पर्ने गैरीगाउँमा छापा मारेर समान बरामद गर्दा समेत इप्रका काँकरभिट्टाको प्रहरी टोली पुगेको थिएन । अन्तिममा मात्र घटनास्थल पुगेको थियो ।
अबैध रुपमा भित्रिएको सामान पक्राउ गरेपनी अबैध सामान भित्र्याउने तस्करीलाई भने प्रहरीले छुट दिँदैआएको छ । भारतको पानीट्याङ्कीबाट सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याइएका सामाग्रीको भन्सार तिर्न उर्दी गर्ने गरेका छन् । काँकरभिट्टा सिमा क्षेत्रमा खटेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीकै संलग्नतामा लाखौं मूल्यको सामान भित्र्याउँदै भन्सार छली गरेको बिशेष श्रोतले बतायो ।