हात्तीले हैरानी दिएपछि सामुदायिक वनभित्रै बेसार खेती
भद्रपुर । झापामा जंगली हात्तीको आतंकले यहाँका कृषक आजित बनेका छन् । भारतबाट प्रवेश गरेका जंगली हात्तीको बथान मेचीनगरको बाहुण्डाँगी नाका हुँदै अहिले चारकोसे जलथल जंगललाई आफ्नो रैथाने बास स्थान बनाएर बसेको छ ।
भद्रपुर, कचनकवल, हल्दिबारी र बाह्रदशी पालिकाले घेरिएको जलथल जंगलमा २२ वटा सामुदायिक वन छन् । सामुदायिक वन उपभोक्ता समूह र त्यहाँका कृषकले लगाएको अन्नबाली हात्तीले कुल्चिएर र खाएर बर्सेनि क्षति पु¥याउँदै आएको छ ।
जसका कारण वन उपभोक्ता समूह र कृषकहरू हात्ती विकल्पसँगै माइकेनिया मिक्रान्था र तीते लहरा बनमारा मिचाहा प्रजातिको न्यूनीकरण र व्यवस्थापन गर्ने योजना बनाएर अघि बढेको पाइएको छ । अहिले वन उपभोक्ता समूहहरू जंगलभित्रै वैकल्पिक खेतीको रुपमा अग्र्यानिक बेसार (हल्दी)खेतीतर्फ आकर्षित भएको देखिन्छ ।
भद्रपुरको दियालो र विशाल, हल्दिबारीको पाथीभरा कालीका , कचनकवलको दुर्गाभिट्टा र त्रिवेणी सामुदायिक वनले जंगलभित्रै अग्र्यानिक बेसार खेती गर्दै आइरहेको छ । भद्रपुर–१ स्थित दियालो सामुदायिक वन उपभोक्ता समूहले विगत दुई वर्षदेखि करिब ७ हेक्टर जमिनमा अर्ग्यानिक बेसार खेती गर्दै आइरहेको समूहका अध्यक्ष देवकुमार लिम्बूले बताए ।
यो हात्ती प्रभावित क्षेत्र हो । हात्तीको समस्याका लागि बेसार खेती उचित ठानेर लगाइएको हो । ‘हात्तीले अरू अन्नबाली नष्ट गरेपनि बेसारमा त्यति क्षति पु¥याउँदैन,’– अध्यक्ष लिम्बूले भने, ‘बेसारको पात पनि हात्तीले खाँदैन, जंगलमा हिँडडुल गर्दा हात्तीले कुल्चिन्छ मात्र, त्यति धेरै नोक्सानी चाहिँ गर्दैन ।’ यो वनमा दिउँसो हात्तीले त्यति आक्रमण गरेको छैन ।
साँझपख जंगलभित्र हात्ती निस्किन्छ । भोलिका दिनमा के हुन्छ त्यो अहिले नै भन्न सकिँदैन । बेसार खेतमा काम गर्न जाने उपभोक्ताहरू बिहान ८ बजे जान्छन्, साँझ ५ बजेभित्र जंगलबाट निस्की सक्छन् । ‘काम गरिरहेको बेला दिउँसो हात्ती निस्केमा उनीहरू सुरक्षित स्थानतर्फ लागिहाल्छन्,– उनले भने । हात्तीसँगै माइकेनिया मिक्रान्था र तीते लहरा बनमारा मिचाहा प्रजातिको न्यूनीकरण र व्यवस्थापनका लागि पनि बेसार खेती उपयुक्त रहेको उनले बताए ।
यो खेतीले जंगलभित्रको ठूला बोटबिरुवा हुर्काउन पनि सहयोग पुर्याउँदै आएको उनको भनाइ छ । यो खेतीले स्थानीय उपभोक्तालाई रोजगारी सृजना गरिरहेको बताउँदै उनले भने –६० देखि ७० घरपरिवारले रोजगारी पाएको छ, जसले शुद्ध अर्ग्यानिक बेसार उत्पादनमा पनि मद्दत पुगेको छ । काँचो बेसारभन्दा सुकाएर पिस्न लायक बनाएको ‘सिम्टा बेसार’ अघिल्लो वर्ष करिब ३० क्विन्टल उत्पादन गरेर बेचेका थियौँ । यस वर्ष पनि उत्पादन बढ्छ । यस वर्ष करिब ४० क्विन्टल उत्पादन हुने लक्ष्य राखेका छौँ,– उनले भने । पहिला बजारीकरणमा समस्या थियो । अहिले बिस्तारै सहज हुँदै गएको उनले बताए ।
विगतका वर्षहरूमा भद्रपुर नगरपालिकाको ध्यान यस क्षेत्रमा परेको थिएन । यस वर्ष बल्ल नगरपालिकाको ध्यान यहाँ परेको छ । नगरको कृषि शाखाले कृषि र मसलाजन्य वस्तु भनेर बेसार खेतीलाई सहयोग गर्ने आश्वासन दिएको छ,– उनले भने । नगरपालिकाले सहयोग गरे लगत्तै बेसार खेतीभित्रै तेजपत्ताको बिरुवा लगाउने योजना रहेको उनको भनाइ छ । स्थानीय उपभोक्ता सावित्रा तामाङका अनुसार बेसार खेतीले यहाँका गाउँलेलाई रोजगारी दिएको छ । जंगलभित्र काम गर्दा हात्तीको डर लाग्छ । तर, अहिलेसम्म हात्तीले हानी चाहिँ गरिहालेको छैन । खेती नजिकैको खोल्सामा पानी खान बेलाबेला हात्ती आउँछन्, हात्ती कराएपछि हामी काम छाडेर सुरक्षित स्थानतर्फ गइहाल्छौँ,– तामाङले भनिन् ।
त्यसैगरी भद्रपुर –१ स्थित विशाल सामुदायिक वन उपभोक्ता समूहले दुई वर्षदेखि बेसार खेती लगाउन शुरु गरेको छ । पहिलो वर्ष उपभोक्ताहरूलाई दिएपनि यसबर्ष वन समूह आफंैले लगाउन शुरु गरेको समूहकी सचिव विनिशा लिम्बूले बताइन् । वनभित्र यो खेती लगाउँदा हात्ती लगायत अन्य जंगली जनावरहरूले दुःख नदिने, आम्दानी पनि हुने र उपभोक्ताहरूले रोजगारी पनि पाउने गरेको उनले बताइन् । यहाँ उत्पादन भएको काँचो बेसार दियालो वनमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।
त्यसैगरी हल्दिबारीस्थित पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले बेसारलाई प्राथमिकतामा राखेर व्यवस्थित खेती गर्ने योजना बनाएको छ । चार वर्षदेखि बेसार खेती गर्दै आइरहेका छौँ, त्यो व्यवस्थित भएन– समूहका अध्यक्ष सागर पोर्तेलले भने–अब व्यवस्थित खेती गर्ने योजनामा छौँ । ३ हेक्टर जमिनमा बेसार खेती लगाएका छौँ । यस क्षेत्रमा हात्तीको निक्कै समस्या छ । हात्ती, मृग र बँदेलले अन्नबाली खाइदिने, उखेलिदिने समस्याका कारण किसान आजित बनेका छन् । त्यसैले वन क्षेत्रभित्र बेसार खेती लगाउन शुरु गरेका हौँ – उनले भने,– ती जंगली जनावरहरूले बेसार खेतीलाई हानी पु¥याउँदैन, यसले रोजगारी र आम्दानी दुवै दिँदा फाइदा पुगेको छ ।
त्यस्तै कचनकवलस्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनराज गुरुङले जंगली जनावरबाट सुरक्षित हुन र वनको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले बेसार खेती लगाएको बताए । वनभित्रको खाली जमिनमा विगत तीन वर्षदेखि बेसार खेती लगाउँदै आइरहेका छौँ । शुरुमा उपभोक्ताहरूलाई खेत गर्न दिएका थियौँ । अहिले वन समूह आफंैले एक हेक्टर जमिनमा खेती लगाएको छ,– अध्यक्ष गुरुङले भने – यहाँ अरू खेती लगाउन सकिँदैन, हात्ती, बँदेलले खाइदिन्छ, त्यसैले बेसार खेती नै उपयुक्त हो ।