हात्तीपाइले अभियान : महिलाको मृत्युपछि स्वास्थ्य कार्यालयले गरायो स्वास्थ्यकर्मीलाई सचेत
झापा । भद्रपुरमा एक महिलाको मृत्यु भएपछि स्वास्थ्य कार्यालय झापाले हात्तीपाइले औषधि सेवन गराउने स्वास्थ्यकर्मीहरूलाई सचेत गराएको छ । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानलाई थप प्रभावकारी र सफल बनाउनका लागि स्वास्थ्य कार्यालयले हात्तीपाइलेको औषधि खुवाउने स्वास्थ्यकर्मीहरूका लागि १० बुँदे निर्देशनसमेत जारी गरेको छ ।
हात्तीपाइले रोग निवारण अभियानलाई सफल बनाउनका लागि थप उत्साहका साथ निरन्तरता दिन, तातो हावा चल्ने क्रम चलिरहेकाले औषधि खुवाउने समय यथाशक्य बिहान वा बेलुका समय मिलाएर खुवाउने व्यवस्थापन गर्न, केही स्थानहरूमा औषधिको पोका वितरण गरेको पाइएकोले थप सुधार गरी औषधिको पोका वितरणमा कडाइका साथ रोक्न, गर्मीको समयमा जलबियोजनको जोखिम भएकोले पानी प्रशस्त पिउन सल्लाह दिने र कडा परिश्रम गरेको वा पैदल हिँडेको पैदल यात्रीहरूलाई केही समय आराम गरेपश्चात् मात्र औषधि खुवाउन, फिल्डमा खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सकेसम्म औपचारिक पोसाक र परिचयपत्र लगाएर जान, औषधि खुवाउने क्रममा सबैभन्दा पहिले Ivermectin, त्यसपछि DEC र अन्तिममा Albendazole खुवाउने प्रोटोकललाई पालना गर्न औषधि खुवाउँदा सकेसम्म हतार नगरी १÷१ चक्की औषधि निल्न दिएर खुवाउन, ज्येष्ठ नागरिक र अशक्तहरूलाई औषधि खुवाउँदा सतर्कता अपनाउन, उचाइ मापन गर्नुपर्ने कार्यलाई अनिवार्य कार्यान्वयन गर्न÷गराउन, सकेसम्म सामूहिक रुपमा ३–५ जनाको समूह बनाएर फिल्डमा हिँड्दा परामर्श गर्न सहज हुने भएको र औषधि खाने दर पनि धेरै देखिएकोले सोही अनुसार व्यवस्था गर्न निर्देशन दिइएको हो ।
भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको बिहीबार हात्तीपाइलेविरुद्धको औषधि सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर मृत्यु भएको बताइएको छ । अहिले उक्त औषधि खुवाउने अभियान चलिरहेको भन्दै अभियानमा नकारात्मक प्रभाव पर्ने हुँदा सरकारले औषधि सेवनकै कारण मृत्यु भएको घटना सार्वजनिक गरेको छैन। तर, उक्त घटना बाहिरिए लगत्तै हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टङ्क बाराकोटीकोसहितको टिम झापा आइपुगेको छ।
झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान जारी छ । मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।