टिपताला नाका पुगे नेपालतर्फका गाडी
ताप्लेजुङ । चीनसँगको टिपताला नाकासम्म नेपालतर्फबाट पनि गाडी पुगेका छन् । टिपताला नाका पाँच हजार एक सय मिटरको उचाइमा रहेको नेपाल र चीनको सीमाक्षेत्र हो ।
फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा रहेको टिपताला नाकासम्मको सडक चौडा गरिएपछि शुक्रबार एक्स्काभेटर र ट्रयाक्टरनाकासम्म पुर्याइएको हो । चीनतर्फबाट भने पाँच वर्षअघि नै टिपताला नाकासम्म गाडी आउने गरेका थिए ।
गत चैतमा सदरमुकाम फुङलिङबाट ओलाङचुङगोलासम्म गाडी पुगेपछि तमोर करिडोर आयोजनाले टिपताला नाकासम्मको २४ किलोमिटर सडक स्तरोन्नति (पहिरो हटाउने, सडक चौडा गर्ने) काम गरेको हो । सडक स्तरोन्नति गरिरहेको एलाइट जेभी कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेका अनुसार तमोरको किनार भएर टिपताला गाडी पुगेका हुन् ।
ओलाङचुङगोलादेखि टिपताला नाकासम्मको २४ किलोमिटर सडक तीन करोड खर्चेर चार वर्ष घि नै ट्र्याक खुलेको थियो । नाका बन्द हुनु (कोभिड)अघि तिब्बतको रिगुबाट गाडीमा ल्याएको खाद्यान्नलगायतका सामग्री टिपताला नाका झारिन्थ्यो । त्यसपछि भने चौँरी र भरियामार्फत बोकेर ओलाङचुङगोलासम्म ल्याएर स्थानीयले उपभोग गर्दथे । तर, अहिले गाडी टिपताला नाकासम्मै पुगे पनि नाका भने खुलेको छैन ।
अब चीनसँगको नाका खुलेपछि स्थानीयलाई सहज हुने फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए । ‘पहिलो नाकाबाट बोकेर सामान ल्याइन्थ्यो । यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो,’ उनले भने, ‘अब त गाडीमा ल्याउन पाइने भयो । त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस् ।’
चीन र भारतसँग जोड्ने तमोर करिडोरअन्तर्गतको टिपताला नाका रणनीतिक महत्वको नाका हो । टिपतालाबाट विराटनगरस्थित रानी भन्सारको दूरी करिब दुई सय ९२ किलोमिटर छ । नयाँ पत्रिकामा खबर छ ।