गाउँपालिकाले खर्च तिर्ने कागज गर्छु भन्दा पनि विराट नर्सिङले शव दिन मानेन
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा सप्तरीको बलानबिहुल गाउँपालिका– २ की श्यामकुमारी रामको मृत्यु भएको चार दिन भयो । मृतकको सद्गतका लागि परिवारका सदस्य शव आउने बाटो हेरेर भोकभोकै छन् । तर, अस्पतालले सबै उपचार खर्च नउठेको भन्दै शव दिन इन्कार गरिरहेको छ । यतिसम्म कि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवसहितको टोली अस्पतालमै गएर पालिकाले नै खर्च व्यहोर्ने गरी कागज गर्न प्रस्ताव गर्दासमेत अस्पतालले शव दिन अस्वीकार गरेको छ ।
पालिका अध्यक्ष यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीयको टोली सोमबार साँझ अस्पताल पुगेको छ । उपचार खर्च पालिकाले तिर्ने गरी कागज गरेर शव उठाउन दिन आग्रह गरे पनि अस्पतालले नमानेको अध्यक्ष यादवले बताए । ‘अस्पताल बिलको ३० प्रतिशत छुट दिन तयार छ, तर उहाँहरू बाँकी रकम नगदै माग्दै हुनुहुन्छ,’ अध्यक्ष यादवले भने, ‘केही रकम श्यामकुमारीका श्रीमान्ले तिरिसक्नुभएको छ । थप डेढ लाख उहाँले तिर्न खोज्दै हुनुहुन्छ । बाँकी रकम गाउँपालिकाले तिर्छ, अहिले कागज गरेर शव दिनुहोस्, कार्यपालिकाको बैठक बसेर निर्णय गराई चेक दिन्छौँ भन्दा पनि उहाँहरूले मान्नुभएन ।’ शव माग्दै पालिका नेतृत्वको टोलीले अस्पतालमै धर्ना दिएको छ ।
श्यामकुमारीको उपचारका क्रममा अस्पताल र फार्मेसीमा गरी साढे २० लाख बिल उठेको थियो । जसमध्ये अस्पतालको मात्रै १२ लाख ५० हजार बिल उठेकोमा तीन लाख ७५ हजार मृतकका श्रीमान् रमेश रामले तिरिसकेका छन् । अस्पतालले ३० प्रतिशत छुट दिने भनेपछि अब बुझाउनुपर्ने पाँच लाख हुन आउँछ । यसमा डेढ लाख पीडितले नै बुझाउने भनेका छन् भने बाँकी साढे तीन लाख गाउँपालिकाले व्यहोरिदिन खोजेको छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।