|

प्रादेशिक अस्पताल भद्रपुर आफै बिरामी, जनशक्ति अभावले बन्यो रेफरल सेन्टर

ad

भद्रपुर । सम्बद्ध निकायले दरबन्दी अनुसारका चिकित्सक व्यवस्थापनमा देखाएको उदासीनताका कारण यहाँस्थित मेची प्रादेशिक अस्पताल भद्रपुर आफै बिरामी भएको छ । पर्याप्त जनशक्ति नहुँदा अस्पतालले उपचारका लागि भर्ना भएका बिरामीलाई अपेक्षाकृत सेवा दिन सकिरहेको छैन । जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा देखिएको अभावले अस्पताल आफै बिरामी अवस्थामा पुगेको हो ।

स्थापनाको ४७ वर्ष बितिसक्दापनि तोकिएको दरबन्दी अनुसारका डाक्टर, ल्याब टेक्निसियन लगायतका कर्मचारी अस्पतालमा छैनन् । जनसहभागिताको आधारमा २०३४ साल पूस १८ गतेदेखि सञ्चालन शुरु भएको मेची अञ्चल अस्पताल पूर्वी नेपालको पुरानो र जनसहभागिताको नमुना सरकारी स्वास्थ्य प्रतिष्ठान हो । इतिहास लामो भएपनि आजपर्यन्त यस अस्पतालमा जनशक्तिको अभाव छँदैछ । स्थापनाकालमा ५० शय्याको यस अस्पतालमा १ सय ३ जनाको दरबन्दी थियो । अहिले अस्पतालमा १ सय ३४ शय्या भएको छ । तर, डाक्टर र कर्मचारीको दरबन्दी २०३३ सालकै छ, त्यो पनि आजसम्म कहिल्यै पूर्ति भएको छैन । जम्मा ४५ जना मात्र कार्यरत छन् । इतिहास लामो भएपनि अस्पतालमा सधैंनै प्राविधिक जनशक्तिको अभाव हुँदै आएको छ, मेची प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु खड्का भन्छन् – ‘जनशक्ति नहुँदा उपचार सेवामा निकै सकस छ ।’

यस अस्पतालमा झापा सहित पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलामका बिरामी समेत आउँछन् । ४ वटा जिल्लाका ३०–३२ लाख जनसङ्ख्यासँग प्रत्यक्ष सरोकार राख्ने यो अस्पतालमा दैनिक आउने बिरामीको सङ्ख्या हाल ४–५ सयको हाराहारीमा छ । बर्सेनि जनसङ्ख्या थपिँदै जाँदा उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै छ । तर, सरकारले पहिले तोकेको दरबन्दी अनुसारको डाक्टर नै व्यवस्थापन गर्न सकेको छैन । १८ जना विशेषज्ञ डाक्टरको दरबन्दीमा ६ जना मात्रै उपलब्ध छन् । आन्तरिक स्रोतबाट राखिएका केही डाक्टर र छात्रवृत्ति कोटाबाट अध्ययनमा आएका विद्यार्थीबाट अस्पतालले काम चलाइरहेको छ ।

अस्पतालमा स्त्री तथा प्रसूति रोग, बाल रोग, नाक कान घाँटी, मानसिक रोग लगायतका विशेषज्ञको अभाव छ । अस्पतालमा प्याथोलोजिस्ट र एनोस्थेसिओलोजिस्ट पनि छैनन् । जनशक्ति अभावका कारण प्रादेशिक अस्पताल रेफरल सेन्टरको रुपमा सीमित बन्न पुगेको छ । अस्पतालको बच्चा वार्ड बन्द गरिएको छ । बालरोग विशेषज्ञ नभएका कारण सोको व्यवस्था नहुञ्जेल बच्चा वार्ड बन्द गरिएको अस्पताल प्रशासनले सूचना टाँसेको छ । यहाँ असार १ गतेदेखि नै बाल रोग विशेषज्ञ छैनन् । यहाँ कार्यरत बालरोग विशेषज्ञ दरबन्दी अनुसार ११आंै तहका प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन १ जना ९ र १०औं तहका कन्सल्टेन्ट पेडियाट्रिसियन २ जना गरी ३ जनाको स्थायी दरबन्दी रहेको छ ।

प्रादेशिक अस्पतालमा बाल रोग विशेषज्ञको दरबन्दी पूर्तिका लागि धेरै पटक प्रदेश सरकार समक्ष पहल गरिसकेको बताउँदै निमित्त मेसु डा. रामबाबु खड्काले भने– ‘बालरोग विशेषज्ञ बिना बच्चा वार्ड सञ्चालन गर्न सकिँदैन । त्यसैले बाध्य भएर सेवा नै बन्द गर्नुपरेको छ ।’ प्रदेश सरकार स्वास्थ्य मन्त्रालयसँग एक जना बाल रोग विशेषज्ञ र १ जना फिजिसियन करारमा नियुक्ति गर्न माग गरिएको उनले बताए ।

प्रादेशिक अस्पतालका रुपमा मेची अञ्चल अस्पताललाई लगिएपछि नै तुलनात्मक रुपमा समस्या बढ्दै गएको स्थानीय सचेत नागरिक बताउँछन् । संघीय सरकारले नै वर्षौँदेखि यस अस्पतालको आवश्यकता र मागलाई सम्बोधन गर्न नसकिरहेको बेला यो अस्पतालको सञ्चालन जिम्मा प्रदेश सरकारलाई दिइएको थियो । त्यसपछि सुरुवातमा अस्पताल सुधारका निम्ति केही ताहुरमाहुर गरिएको र प्रदेश सरकारका सम्बन्धित मन्त्रीहरू केही संवेदनशील बनेको पाइए पनि क्रमशः जारी सेवामा पनि असर पुग्ने गरी समस्याको सुनुवाइ प्रदेश सरकारबाट नभएको आम सिकायत रहँदै आएको छ ।

खासगरी, सरकारले राजनीतिक नियुक्त गर्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षको अकर्मण्यता एवम् गैरजिम्मेवारी पनि अस्पतालको सेवामा सुधार हुन नसक्नुको कारण बन्दै आएको छ । संघीय संरचनापश्चात् ‘जिल्ला समन्वय समिति’ नाम दिइएको राजनीतिक नियुक्ति गरिने संस्थामा ‘अध्यक्ष’ बनेकाहरूलाई नै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको पदेन अध्यक्ष पनि बनाइने गरिँदा अस्पताल सम्बन्धित ज्ञानविहीन र काम गर्ने सोच पनि नभएका त्यस्ता पार्टीका नेता तथा कार्यकर्ताले सुधार गर्न ढंग नपुर्‍याएका हुन् । अर्को अर्थमा तिनले अस्पतालमा पनि जागिर पाएजस्तो मात्रै भइरहेको छ । पछिल्ला समितिहरु लगभग निकम्मा सावित हुँदै आएका छन् ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निकम्मापनको नमुना नवनिर्मित अस्पताल भवन पनि हो । नयाँ भवन बनिन सक्दै चुहिने र चर्किने भएको बारे जनस्तरमा व्यापक विरोध भइरहेकै अवस्थामा करिब ६ महिना अघि अस्पताल विकास समिति लगायतले सो भवन बुझिलिएको थियो । त्यसपछि फेरि पनि सुधार समिति लगायत सचेत नागरिकहरूको व्यापक दबाबका कारण सो भवन बनाउने ठेकेदार मर्मत गर्न बाध्य हुनु परेको थियो र काम भयो पनि । तर, अझै काम मापदण्ड अनुकूल सन्तोषजनक हुन सकेको छैन ।

त्यसमाथि प्रादेशिक अस्पताल सुधार समितिले लगभग डेढ वर्षदेखि यहाँ उपलब्ध भएकै स्वास्थ्य सेवालाई पनि सेवाग्राहीमैत्री बनाउन र चिकित्सकहरू एवम् अन्य स्वास्थ्यकर्मीहरुले गर्ने काम चुस्त–दुरुस्त गर्न निरन्तर दबाब दिँदै आएको छ । सो समितिका अध्यक्ष दीपक तिम्सिना भन्छन्– ‘यस क्षेत्रका हामी युवाहरू सम्मिलित समितिले बारम्बार अस्पतालको सेवामा सुधारका लागि विभिन्न प्रयत्नहरू गर्‍यौँ, केही सुधार भएजस्तो पनि भएथ्यो । अहिले पनि हामी अस्पताल सुधार समिति, निरन्तर सुधारका निम्ति नियामक सरोकारवाला पक्षहरूसित आपसी छलफल गरिरहेकै छौँ । तर, सुनुवाइ गर्नु पर्ने साधिकार व्यक्ति र निकाय अद्यापि गम्भीर भएको पाइएको छैन । अब भने हामी अस्पताल सुधारका लागि अलि कडा दबाब दिनेगरी तयारी गर्दैछौं ।’

Similar Posts