झापामा सशस्त्र प्रहरीको दादागिरी, सस्तो लोकप्रियताको लागि व्यवसायीमाथी दमन
झापा । सस्तो लोकप्रियताको लागि बिलविजकसहित गोदाममा राखिएको सामान बरामद गरेर सशस्त्र प्रहरील झापाले मिडिया ट्रायल गर्ने गरेको तथ्य बाहिर आएको छ । ए.के सप्लायर्सले कचनकवल गाउँपालिका–६ बनियानीस्थित जमनाल मियाँको घर भाडा लिएर राखिएको गोदामबाट सशस्त्र प्रहरीले बिलविजक भएको सामान जबरजस्ती उठाएर लगेको सप्लायर्सका सञ्चालक अरुण साह बानियाले आरोप लगाएका लगाउँदै पुष्टि गरेकाछन् ।
बिल बिनाका लाखौं मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले छापा मारेर बरामद गरि भन्सार बुझाएको भनेर सशस्त्रले बिभिन्न मिडियामा मेल पठाए पनि सो समान बिल सहित रहेको पुष्टिभएको हो । सोमबार दिउँसो करिब १ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी प्रभातकुमार गौतम नेतृत्वको टोली सामान राखिएको मियाँको घर गोदाम घेराउ गर्न पुगेका थिए । गोदाम खोलेर बिलबिजक भएको सामान सशस्त्रले उठाउन खोजेपछि व्यापारीसँग विवाद भएको थियो । उत्पन्न विवाद पश्चात व्यापारी साहले राजश्व कर्मचारी आए मात्र गोदाम खोल्न दिने अडान राखे ।
लगतै सशस्त्रले आन्तरिक राजश्व कार्यालय भद्रपुरलाई खबर गरे । राजश्वका कर अधिकृत तिलक थापा मगर र नायव सुब्बा विशाल काफ्ले घटनास्थल पुगे । त्यसपछि राजश्व कर्मचारीले गोदाम खोलेर बिलबिजक अनुसारको सामान चेकजाँच गर्न सुरु गरे । तर, राजश्वका कर्मचारी बिलबिजक अनुसारको समान यकिन गर्न सकेन । कर अधिकृत थापाले गोदाम दर्ता र बिल अनुसारको सामान नभएको शंका लागेपछि सशस्त्रलाई जिम्मा लगाएर हिडेको बताउँछन् । सामानको यकिन नभएकोले सशस्त्रले भन्सार बुझाएको हुनसक्ने उनको भनाइ छ । यता ब्यापारी साहले भने बिल देखाउदा पनि शसस्त्रले जबरजस्ती सामान लगेको हो । ‘मेरो बनियानी बजारमै कपडाको पसल छ, खुद्रा र थोक दुवै बिक्री गर्छु, व्यापारी साहले भने, ‘पसलको सामान मिँयाको घर भाडा लिएर राखेको हुँ ।’ गोदाममा अनुज टेड्रिङ्ग एण्ड सप्लायर्स भद्रपुर र जय श्री दुर्गा भवानी स्टोर बिर्तामोडबाट खरिद गरी ल्याएको सामान थियो ।
दुवै बिक्रेताको बिजबिजक देखाउँदा पनि सशस्त्रले ज्यादती गरेको उनको आरोप छ । बिलबिजक भएको सामान राजस्व अनुसन्धान कार्यालय इटहरी लैजानु पर्नेमा सशस्त्रले मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको उनले बताए । सशस्त्रका डीएसपी गौतमले सबै सामान उल्लेखित भ्याट बिलको ओसी लगेको छ । ‘भन्सारमा बिल बिनाको सामान बुझाएपछि डीएसपी गौतमले लगेको बिल कहाँ गयो ? यहाँबाट पनि सशस्त्रले ममाथि ज्यादती गरेको पुष्टि हुन्छ,’ उनले थपे । सशस्त्रले भारतवाट अबैध रूपमा चोरी तस्करी गरी लुकाईछिपाई गोदाममा राखिएको भन्दै २३ पोका कपडा ४८ लाख १८ हजार ७०० मूल्य तोकेर सोमबार नै मेची भन्सार बुझाएको छ ।
सशस्त्रले वेवारिसे अवस्थामा भेटिएको भनि सामान भन्सार बुझाएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कडेलले बताए । ‘सशस्त्रले सामान ल्याएपछि सामान बुझेको हो, सशस्त्रले बिलबिजक भने भन्सार बुझाएको छैन,’ सूचना अधिकारी कडेलले भने, ‘प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी सर बिदामा हुनुहुन्छ, उहाँ आएपछि मात्र त्यस बारेमा थप अनुसन्धान गरिन्छ ।’ ‘व्यापारीसँग सामानको बिलबिजक छ भने सामान भन्सारमा राख्न मिल्दैन, यहाँबाट राजश्व अनुसन्धान पठाउनु पर्ने हुन्छ,’ उनले थपे । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी प्रभातकुमार गौतमले बिलबिजक नभएको सामान लगेको बताए । भन्सार छलीको आशंकामा गोदामबाट लगिएको सामान मेची भन्सार बुझाएको हो ।