राजवंशीको शव भद्रपुरको ८ नं वडा कार्यालयमा राखेर प्रदर्शन
झापा । मेलमिलाप समितिको दबाब सहन नसकेर आत्महत्या गरेका गेल राजवंशीको शव राखेर आफन्तले भद्रपुरको ८ नं वडा कार्यालयमा प्रदर्शन गरेका छन् ।
मेलमिलाप समितिका सुरज रेग्मीलगायतलाई कार्वाहीको माग राख्दै राजवंशीका आफन्तहरुले आज दिउँसोदेखि वडा कार्यालयमा प्रदर्शन गरेका हुन् । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोज्दा भद्रपुर–८ स्थित भद्रशिव मन्दिरनजिकै बसोबास गर्ने ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुन्डिएर आत्महत्या गरेका थिए । उनको शव पोस्टमार्टमको लागि धरान पठाइएको थियो । पोस्टमार्टमपछि ल्याइएको शव आफन्तहरुले वडा कार्यालयमा ल्याएर प्रदर्शन गरेका हुन् ।
मेलमिलाप समितिका पदाधिकारीहरूले सिधासाधा तथा निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा ती कुरा सहन नसकेर बुबाले आत्महत्या गर्नु परेको छोरा पर्वलाल राजवंशीले आरोप लगाएका छन्। अहिले भद्रपुर नगरपालिकाका नगर प्रमुख , उपप्रमुख, प्रहरी उपरीक्षकलगायतको उपस्थितिमा मृतक परिवारसंग वडा कार्यालयमा छलफल भइरहेको जनाइएको छ ।