२० सदस्यीय मन्त्रिपरिषद्मा तीनजना मात्रै नयाँ, हुन सकेन दलितको प्रतिनिधित्व
नयाँ गठबन्धन सरकारमा चार महिलाको प्रतिनिधित्व
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धनमा आबद्ध दलहरूलाई समेटेर बुधबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । २० सदस्यीय मन्त्रिपरिषद्मा तीन नयाँ अनुहार आएका छन्, बाँकीले यसअघि पनि मन्त्री–उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व हुन सकेको छैन ।
राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएलगत्तै नवनियुक्त मन्त्रीहरू सिंहदरबार पुगेर पदभार सम्हालेका छन् । बुधबार तीन उपप्रधानमन्त्री र १६ मन्त्री नियुक्त भएका हुन् । यसअघि मंगलबार एमाले, माओवादी र रास्वपाबाट एक–एकजनाले मन्त्रीको शपथ लिए पनि मन्त्रालय तोकिएको थिएन ।
नयाँ गठबन्धन बन्दा चार दल रहेकामा बुधबार एकीकृत समाजवादी पनि सहभागी भएपछि सरकार सुविधाजनक बहुमतमा पुगेको छ । एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् । चार दलको सांसद संख्या १४१ पुग्छ । बहुमतका लागि १३८ सांसद चाहिन्छ । जसपा थपिए सत्तागठबन्धनसँग १५३ सांसद हुनेछन् । आजको नयाँ पत्रिकामा खबर छ ।