कसले चलाउँदैछ झापा कारागारभित्रको प्रशासन ?
झापा जिल्ला कारागार भद्रपुर चौकीदारविहीन भएको छ । भाइ चौकीदारको विषयले गत शुक्रवार ठूलै हुलदङ्गा भएपछि चौकीदार लयप्रसाद शिवाकोटीले सरुवा मागेका थिए । उनको झुम्का कारागार सरुवा भएपछि अहिले झापाको कारागार चौकीदारविहीन भएको हो ।
भाइ चौकीदार मनोज लावतीलाई झुम्का कारागार सरुवाका लागि बाहिर निकाल्दा जेलभित्र ठूलो हुलदङ्गा भएको थियो । प्रशासन र सुरक्षाकर्मीपछि हटेकै कारण ठूलो दुर्घटनाबाट जोगिएको कारागारमा अहिले अघोषित चौकीदार बनेका छन् लावती ।
केही समयअघि चौकीदार शिवाकोटी र लावतीबीचभित्र वादविवाद भएको थियो । उनीहरूको द्वन्द्वले शुक्रवारको रूप लिएको अधिकांशको बुझाइ छ । आर्थिक वर्ष ०८०/०८१का लागि असार मसान्तमा लावतीलाई चौकीदारका लागि सिफारिस गरिएको थियो । तर, कारागार व्यवस्थापन विभागले नयाँ मापदण्ड अनुसार सिफारिस गर्न साउन १०मा अर्को परिपत्र गरेको थियो । परिपत्रमा त्यसअघिको सिफारिस स्वतः खारेज भएको समेत जनाइएको बुझिएको छ । मापदण्डमा नपर्ने भएपछि लावतीलाई झुम्का पठाएर नयाँ चौकीदार सिफारिस गर्ने तयारी गर्दैगर्दा कारागारमा समस्या उत्पन्न भयो ।
अहिले आधिकारिक रुपमा कोही पनि चौकीदार छैनन्– जेलर मोहनलाल पनेरुले भने– बुझ्नमा आएसम्म लावतीलाई चौकीदार बनाइएको छ । विभागले नतोकेसम्म आधिकारिक चौकीदार मानिने छैन ।
तत्काललाई चौकीदारको विषय प्रक्रियामै रोकिएको छ । उत्पन्न विवाद मत्थर नभएसम्म प्रक्रिया अघि नबढ्ने बुझिएको छ । आन्तरिक माहौल सहज भएपछि प्रक्रिया अघि बढाइने जेलर पनेरु बताउँछन् । सबैजसो जेलमा चौकीदार बन्न ठूलै रस्साकस्सी हुने गरेको छ । सोही बमोजिम झापामा पनि चौकीदारको लडाइँ देखियो ।
विगतमा पनि वरियता क्रममा निकै तल रहेका शिवाकोटीलाई चौकीदार बनाउँदा बिरोध भएको थियो । चौकीदार भएपछि भित्रको व्यवहारमा अगुवाइ गर्न पाउने, विभिन्न शीर्षकमा आर्थिक लाभ लिन पाइने र अन्य कैदीको तुलनामा स्वतन्त्र हुने गरेको बुझिएको छ ।
कारागार विभागले दिने पैसा र चामल आफैं बुझेर चौकीदारले भित्र व्यवस्थापन गर्ने गरेको कारागार प्रशासनले जनाएको छ । चौकीदारले एकमुष्ट पैसा बुझेरभित्र मेस चलाउने गर्छन् । भित्र रहेका पसलहरूबाट महंगोमा सामग्री बिक्री गर्ने, विभिन्न सुविधामा पैसा लिने गरेको बताइन्छ ।
साढे ७ सय क्षमताको झापा कारागारमा अहिले १५ सय भन्दा धेरै कैदीवन्दी रहेका छन् । २०२० सालमा स्थापना भएको झापा कारागार जीर्ण, अव्यवस्थित र दुर्गन्धित बन्दै गइरहेको छ । कारागारका लागि कलवलगुरी क्षेत्रमा १० बिगाहा जमिन पास भइसके पनि निर्माणका लागि कसैले पनि अगुवा गरेका छैनन् ।
Source: Purwanchal Daily