प्रधानमन्त्री दाहालले आइतबार राजीनामा दिने !
झापा, । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार राजीनामा दिने तयारी गरेका छन् ।
हिजो बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री दाहालले आइतबार संसद बैठकबाट राजीनामा दिन लागेको ब्रिफिङ गरेका हुन् ।
‘दुई ठुला दल मिलेपछि कसैको केही लाग्दैँन । आइतबार संसद बैठकबाट राजीनामा दिन्छु । माओवादी अब प्रतिपक्षमा बस्न तयार छ, ’ उनले हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा यस्तो भनेका हुन् । बहुमत गुमाइसकेको र वैकल्पिक गठबन्धनको मार्गचित्र प्रस्ट भइसकेको अवस्थामा प्रधानमन्त्री दाहालले राजीनामा दिन लागेका हुन् । सरकारको मुख्य साझेदार एमाले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिइसकेको छ ।
दाहालले बैठकमा राजीनामा दिन लागेको भनेपनि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले राजीनामा नदिएर छिट्टै विश्वासको मतको सामना गर्ने निर्णय भएको जानकारी दिएकी थिइन् । उनले विश्वासको मत लिन ३० दिन नकट्ने बताउदैँ छिट्टै विश्वासको मत लिने तयारी भएको बताइन् । यसभन्दा अघि भने नेकपा एमाले र कांग्रेसले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन आग्रह गरेपनि उनले आनाकानी गरिरहेका थिए ।
संसदबाट विश्वासको मत नपाउने निश्चित हुँदा समेत दाहालले पदमा बसिरहनु उचित नभएको भन्दै चौतर्फी दबाब बढेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । उनले पदबाट राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले त्यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराउने छन् । उक्त जानकारीपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।
नयाँ सरकार गठनको आह्वान गरिएपछि कांग्रेस र नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्दै बहुमतको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष पुग्ने तयारी गरेका छन् ।कांग्रेस र एमालेबीच आलोपालो प्रधानमन्त्रीलगायतका विषयमा ७ बुँदे समझदारी भएको छ ।