बंगलादेशबाट १७ जना नेपाली विद्यार्थीलाई आज उद्धार गरिदैँ
झापा । हिंसाग्रस्त बंगलादेशबाट १७ जना नेपाली विद्यार्थीलाई आज उद्धार गरिदैँछ ।
बंगलादेशको सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई आज नेपाल फर्काउन प्रबन्ध मिलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशको सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई आइतबार नेपाल फर्काउन प्रबन्ध मिलाएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले शनिबार साँझ सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, ‘बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई आज बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ ।’
सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत शनिबारसम्ममा आठ सय नेपालीले हवाई र स्थलमार्ग हुँदै बंगलादेश छाडेको जनाएको हो । ढाका विमानस्थल र अन्य स्थल नाका हुँदै नेपाली विद्यार्थीको सुरक्षित यात्राका लागि ढाकास्थित नेपाली दूतावासले सहजीकरण गरिरहेको समेत मन्त्रालयले उल्लेख गरेको छ । बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।
बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शन केही दिनयता हिंसात्मक बनेको हो । अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाइसकेको बंगलादेशस्थित अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएका छन् । बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको छ ।आन्दोलन चर्किंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी हवाई र भारतीय स्थलमार्ग हुँदै फर्कन थालेका हुन् । नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै बंगलादेशमा अध्ययनरत ३४० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।