कुवेतमा ‘भिसा–१८’ प्रति कामदारको आकर्षण, ३ सय कामदारले रोजे निजी क्षेत्र
झापा । कुवेतमा घरेलु कामदारमा चरम असन्तुष्टि रहेको पाइएको छ । कुवेतले घरेलु कामदारले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्ने कानुन ल्याएको ४८ घण्टा पनि बित्न नपाउँदै ३ सय कामदारले निजी क्षेत्र रोजेका छन् ।
कुवेतले घरेलु कामदार (भिसा–२०)लाई निजी क्षेत्र (भिसा–१८)मा हस्तान्तरण गर्ने कानुन जारी गरेको थियो । दुई महिनासम्म जारी रहने यस निर्णयको फाइदा घरेलु कामदारले लिन लागेका हुन् ।
यो कदमले विदेशबाट काममा ल्याउनुको सट्टा स्वदेशभित्रै रहेका कामदारको सीपको फाइदा उठाउँदै निजी कम्पनीमा जनशक्ति अभावलाई थप मजबुत बनाउने विश्वास गरिएको कुवेत आन्तरिक मन्त्रालयले जनाएको छ । घरेलु कामदारलाई निजी क्षेत्रमा सरुवा गर्ने निर्णयले कतिपय आयोजना सम्पन्न गर्न आवश्यक पर्ने कामदारको व्यवस्था गरी निजी क्षेत्रलाई पुनरुत्थानमा टेवा पुग्ने बताइएको छ ।
घरेलु कामदारले स्थानान्तरणका लागि आफ्नो रोजगारदाताको स्वीकृति प्राप्त गर्नुपर्नेछ । त्यो एउटै रोजगारदाताकामा काम गरेको कम्तीमा एक वर्ष हुनुपर्ने जनाइएको छ । यसबाहेक, नयाँ सम्झौतामा प्रत्येक वर्षको लागि १० कुवेती दिनार शुल्क लाग्नेछ भने स्थानान्तरणका लागि ५० केडी शुल्क लाग्ने भएको छ ।
नयाँ नियम कुवेतभित्र घरेलु कामदारको आवागमनलाई नियमन गर्न महत्वपूर्ण कदम हुने मन्त्रालयले विश्वासले लिएको छ । कुवेत सरकारको यो निर्णयसँगै त्यहाँ रहेका हजारौं नेपाली घरेलु कामदार लाभान्वित हुनेछन् ।
कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत रहेका नेपालीले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न पाएपछि मालिकको शारीरिक तथा मानसिक यातनाबाट छुटकारा पाउने भएका छन् भने दैनिक उद्धारका लागि अनुनयविनय गर्नेको संख्यामा पनि कमी आउने अपेक्षा गरिएको छ ।
त्यहाँ हरेक दिन १०–१५ जना नेपाली महिलाले आफूलाई घर मालिकले बन्धक बनाएको भन्दै उद्धारका लागि आग्रह गर्नेगरेको त्यहाँबाट सामाजिक अभियन्ताले बताउने गरेका छन् । कुवेतमा २५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार रहेको बताइन्छ ।
नेपालले कुवेतमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करले ललाइफकाई गरेर कामदार पठाउने गरेका छन् । हाल विभिन्न पेसामा गरी कुवेतमा १ लाख ७ हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।आजको राजधानी दैनिकमा खबर छ ।