स्व दर्शन
लेखक-कृष्ण भुजेल, गुवाहाटी आसाम
निशब्द भएँ । स्व पढेँ । पाँच दिन अवाकसरि भएँ । उपल्लो दर्जामा लेखिएको अलग्गै विषयले सोझै मस्तिष्कमा प्रहार गर्न सफल भएकोले निशब्द बन्न पुगेँ । सरस्वती प्रतीक्षाका कविता र आख्यान त पहिलेबाट पढेको नै हो । तर स्व पढेबाट उनको बौद्धिक र आध्यात्मिक दिव्यदृष्टि अचम्मको लाग्यो । मान्छेको मनोविज्ञान सहजै पढ्ने क्षमता श्रष्टालाई अध्यात्मका साथसाथै वैज्ञानिक संज्ञानले समृद्ध पारेको कुरा उपन्यासले छर्लङ्ग पार्छ । स्व पढ्दै जाँदा आत्माज्ञान जाग्दै जान्छ र स्व बोध जगाउन सके आफ्नो चिन्तन परिधि विस्तार गर्न सकिन्छ भन्ने संज्ञान उपन्यासबाट भेटिन्छ ।

उपन्यासले सकरात्मक भावको उच्चतम उत्सर्ग छुएसरि आभास गरायो । लेखाइ सहज, सरल, मनमोहक तर भाव सर्वश्रेष्ठ छ। भावार्थहरू गुणस्तरीय छन् तर बुझ्नलाई स्व बोध जगाउनु नै पर्ने हुन्छ । सजिलो वाक्य गठनसँग गभीर विषयवस्तु उपस्थापन बुद्धिदिप्त लाग्यो । पोखरेली लय, भाका र सुन्दर प्रकृति नै स्वयं बोलेसरि अनुभूति पढ्दै जाँदा पाठकीय मनमा जाग्छ । शुरुआतबाटै पाठक मनलाई आकर्षित गर्नुमा स्व एकदमै सफल बनेको छ । स्वस्थ, स्वच्छ र कोमल अन्दाजमा अघिबढ्दो उपन्यासले मानव मनको कोमल पानाहरू छुदैवर्दै स्वयं नै गतिमान भएको आभास गराउँदछ ।
स्व केवल उपन्यास मात्र नभएर बेसकिमती जीवन दर्शन पनि बनेको छ । मानवीय जीवन सार्थक बनाउने अमुल्य समलहरू उपन्यासका हर पृष्ठामा उतारिएका छन् । अमुल्य समलहरू अति नै सुललित भाका र बुद्धिदिप्त लयमा प्रस्तुत गरिएको छन् कि त्यसको प्रभाव सोझै मस्तिष्कमा पुग्छ । मानवीय मुल्यबोध चिनाउन स्व उपन्यासले असरदार प्रभाव फ्याकेको छ । उपन्यासले आफैंले आफूलाई निरपेक्ष दृष्टिकोणले चिन्नुपर्छ र आफ्नै बौद्धिक दर्शनले अग्रगामी पाइला चाल्नुपर्छ भन्ने ब्रह्मज्ञान दिएको छ ।
सामूहिकताभित्र पसेर अनुभव बटुल्दै जाँदा स्व बोधले स्वतन्त्र बाटो खोज्नु मानव प्रक्रिया हो । तर स्व बोध जगाउन अर्काले परिभाषित गरेको स्व अपनाउनु पर्छ भन्ने होइन भन्ने सचेत स्व ले खुलाउँछ । स्व चेत खुदै नजागे स्वकीयता बाँच्छ नै कहाँ भन्ने सतर्कता उपन्यासले बाँड्दछ। त्यसर्थ स्व ले पनि स्वतन्त्र सोच्ने र विश्लेषण गर्ने मुक्त राह पाउनुपर्छ नत्र स्व ले निजस्व चोला ओढ्ला कसरी भन्ने सुपाठ उपन्यासले दिँदछ ।
बौद्ध दर्शन पनि गौतम बुद्धको नै स्वं बोध हो भनेर, उपन्यासले स्पष्ट जताउँछ । स्व बोध भनेको नै स्वयं बोध हो । स्व बोधको प्रत्येक व्यक्ति निजी प्रतिनिधि हौँ । कसैको अनुयायी नबनोस् भनेर नै स्व को खेती अनिवार्य छ । प्रकृतिले पनि मान्छेलाई मात्र स्व बोध जगाउने अनुमति दिएको छ । त्यसैले त मान्छे विवेकशील भनेर चिनिन्छ ।
सरस्वती प्रतीक्षाको स्व बोध अनुकरणीय छ । उहाँको सोचशील परिधि साच्चिकै गहिरो र प्रभावकारी छ । त्यसको बारम्बार बखान गरिरहनु उचित नहोला । काल्पनिक पात्रहरू त उपन्यास प्रस्तुतिका लागि खाँचिलो हुनु स्वाभाविक हो । बुद्ध दर्शनप्रति विश्वास दर्शाएर सरस्वती प्रतीक्षाले प्रत्येक मान्छेको स्व चेत जगाउने प्रयास गरेकोमा मौलिक दर्शनप्रति सम्मान पस्केको लाग्यो । स्व ले गौतम बुद्ध नै स्व या निजत्वबोधका युगान्तकारी द्रष्टा हुन र उहाँले दर्शाएको आराधना पद्धति श्रेष्ठ छ भन्ने पुनः ठहर त गराउँछ । तर स्व बोध सदैव स्वतन्त्र परिचायक हो भनेर बुझ्नुपर्ने संज्ञान जिउँदो रहनु जरुरी पनि देखिन्छ ।
यहाँनेर मनमा प्रश्न उठ्छ, सरस्वती प्रतीक्षासरि शोधपरक या वस्तुनिष्ठ ज्ञानले समृद्ध बुद्धिदिप्त व्यक्तित्वलाई अर्काको दर्शन पैंचो लिनुपरेको होला किन ?
सत्यमलाई हरियो अक्षरमा बारम्बार सोधिन्छ कि तिमी किन आफैंबाट भागिरहेको छौँ ? यो त पलायनवादी बेहोरा भएन र भनेर प्रश्न गरिन्छ ? सत्यम हुन या काव्या या त अरू दशना पाठ गर्ने चरित्र सबैको अशान्तिको कारण सामाजिक अन्याय नै रहेछ । यहाँबाट के बुझिन्छ भने मान्छे घरेलु हिंसा या समाजिक उत्पीडनबाट भाग्नु होइन, स्व बोध जगाएर समस्याको सम्मुखीन हुनुपर्छ भन्न खोजिएको छ । विवेकशील मान्छे स्व बोध जगाउन अरूको पछि किन लाग्नु जबकि उसभित्र नै असम्भवनाबाट सम्भावना उमार्ने ल्याकत जब हुँदछ ?
सिध्यार्थ गौतम प्रकृति अनुरुप चल्ने गृहस्थ जीवनयापनका चुनौतीहरूप्रति वैराग्य दर्शाएर मनका उब्जेका अनुत्तरित प्रश्नहरू मात्र लिएर आफ्नो बाटो हिँडेँ । सिघ्यार्थ गौतम त झनै अभावपूर्ण विराट जनमानसको अभिभावक भएको हुुँदा उनको दायित्व अझै कति ठूलो थियो होला कि ? तर उनलाई मनमा उब्जेका जिज्ञासाहरूको उत्तर नभेटेर शान्ति खोज्दै साधनामा लीन हुन सठिक लाग्यो । राम्ररी नियाल्दा त्यो पनि गौतम बुद्धको स्व निर्णय थियो । सही थियो या थिएन, बहस गर्नु यहाँ ठिक नहोला !
स्व उपन्यासले सत्यमसरि पलायनवादी नबनेर स्थिति अनुरुप स्व चिन्तनद्वारा सत्यको राहमा हिँड्न पाठकलाई दिग्दर्शन दिन्छ । गौतम बुद्ध विरक्तिएका कारणको विश्लेषण नगरी माथिमाथि बुद्ध दर्शनको जयगान मात्र गाएर समस्याको समाधान भेटिंदैन भनेर स्व बोधले नै दर्शाउँछ । मनको होस्, तनको होस्, समाजको होस् या राष्ट्रको किन नहोस्-अशान्ति थियो, छ या रहन्छ र त शान्ति खाँचिलो छ । अशान्ति नै छैन भने किन शान्तिको साधना गरिरहनु ? अशान्ति अवश्यम्भावी हो ।
सरस्वती प्रतीक्षाले जगाएको स्व बोधले एकोहोरो सोच्नु हुँदैन भन्ने चेत पनि खुलाउँछ । त्यही चेतले गौतम बुद्धको वरिपरि नियालेर हेर्नु पनि बोध गराउँछ । अन्त्यमा नै सही, सत्यममा आफ्नो आमाको यथास्थिति नियालेर हेर्ने स्व बोध क्षणिक भएपनि जगाएर श्रष्टाले पाठक मनलाई राहत दिँदछिन् ।
समय द्रुतगतिमा परिवर्तनशील छ । मेरो नै बाबाको जीवनकाल र मेरो जीवनकालमा वैश्विक परिवर्तन आकाश पातालको आयो । व्यवसाय/कारोबार गर्दै जाँदा विभिन्न कुटकौशल अपनाउनु कलासरि मानिन्छ अन्यथा प्रतियोगिताबाट बाहिरिने सम्भावना हुन्छ । तर राजनैतिक पट परिवर्तन र वैश्विक आपदाले गर्दा नचाहँदा नचाहँदै पनि एकपछि अर्को गल्ती, त्रुटिहरू मसँगसँगै हिँडीरहेछन् । सागरको भारी बोकेर खोलाको प्रवाहमा बग्दैछु । यस्तो विकट स्थितिबाट पुनः सगर्वले उभ्भिनु छ भने मैले नै परित्राणका स्वकीय पाइला चाल्नुपर्छ । मेरो नै स्व बलबुद्धिले भविष्य निर्माण गर्नुपर्नेछ । त्यहाँबाट परित्राण पाउँछु कि पाउँदिन भन्ने मेरै कर्म गतिशीलतामाथि निर्भर गर्छ । यसक्रममा अझै दृढ़ संकल्पित हुनमा उपन्यास स्व ले बल दिँदछ ।
अबोध बालकले पनि काँडा बिजेपछि बुझ्दछ कि अबउसो त्यता जानू हुँदैन भनेर । त्यही नै हो, स्व बोध । मानव विवेक यति सक्षमशील छ कि कुनै पनि परिस्थितिबाट परित्राण निकाल्न सक्छ, त्यसको लागि उसले स्वकीय चेत व्यवहारमा ल्याउनुपर्छ । सहाराहरू परिपक्व नहुन्जेलसम्मका लागि मात्र सहायक बनिएको उत्तम मानिन्छ । परिपक्व बनेपछि वैचारिक दृष्टिकोणबाट स्वयं विश्लेषण गर्ने शक्ति मानव विवेकमा हुन्छ नै ।
सरस्वती प्रतीक्षाको सबल पक्ष नै हो-पाठक मस्तिष्कमा तत्कालै असर पार्नसक्ने क्षमता । स्व पढिरहँदा नै मभित्र अनेकौं स्वकीय सोचहरू स्वत: जागे । जसले अघिपछि,यताउता, माथितल, उकालोओरालो चारैतिर स्व दृष्टि नियाल्नु बाध्य गराएँ, जसको प्रभाव लेखाइमा स्पष्ट देख्नुभयो । अनेकौं गल्तीहरू आँखामा उत्रिए । अबउसो सकेसम्म गल्तीको छेउ पर्दिनँ भन्ने स्व चेत पनि खुलस्त भयो ।
स्व बोधको सपक्षमा निरपेक्ष दृष्टिकोणले लेखिएको उपन्यासले अचम्मित प्रभाव बाँड्न सफलभएको छ । आफूले आफैंलाई नढाट्दा जीवन सुन्दर र सरल बन्नुसक्छ भन्ने असल पाठ उपन्यास स्व ले बाँडेको छ । सबैभन्दा चुरो कुरा सत्यको राहमा हिँड्दा मात्र शान्ति नजिकिन्छ । अर्को कुरा साधनामा लीन हुन मात्र एकान्त चाहिने हो । यदि चिन्तायुक्त यातनाको गाढा भारी बोक्नुभएको छ भने लाखौंको भीडमा पनि तपाईं एक्लो नै हुनुहुनेछ । मानसिक रुपमा शान्ति प्राप्त गर्नु छ भने समस्याभन्दा अघिको हिँडाइ हुनुपर्छ । त्यो विलक्षण गुणागुण आफ्नो स्व चिन्तनले मात्र दिलाउन सक्ला !
स्व उपन्यास लेखनको माधुर्यता यहाँ छ कि मोहभन्दा त्यागमा सुखानुभूति पाउन सकिन्छ भन्ने बोध पाठकमा स्वत: गराउँछ । मानवीय घेराभित्र रहेपछि दायित्वबाट भाग्नुलाई त्याग पक्कै भनिंदैन होला । अधिक मोहमा पर्दा धेरै प्रत्याह्वान बेहोर्नु पर्ने हुनाले ल्याकत अनुसार भारी बोक्दा सरल र सफल जीवनयापन गर्न सकिएला भन्ने बोध जगाउनुमा उपन्यास सफल छ ।
स्व उपन्यासको प्रभावकारी शिक्षा यही लाग्यो कि विवेकशील मान्छेभित्र जस्तै समस्याबाट पनि बाहिरिने स्वकीय शक्ति हुन्छ । त्यसको सद्व्यवहार गर्नलाई कुनै महान, प्रख्यात या विख्यातको अनुयायी नबनौँ । आफ्नै जब स्व चिन्तनबाट जस्तोसुकै उच्च विचार जन्मिनु सक्छ भने त्यसको खेतीमा चै लाग्यौँ । तर सचेत बनौँ, आफ्नो धरातलको क्षमता बुझेर, नियालेर,जाँचेर,जोखेर बिरुवा रोपे मात्र समय र परिस्थितिसापेक्ष उन्नत एवं विकासशील फल उम्राउन सकिएला ! बाहिरतिर देखेको, पढेको र सुनेको भरमा तपाईंको बगैंचामा उन्नत फल उम्रिंदैन । समस्याबाट टाढिएर शान्ति पाउनु सकिंदैन भन्ने कुरा सपनामा सम्भव छैन भनेपछि विपनामा त कल्पना नगर्दा नै हुन्छ । यही ध्रुवसत्य हो भन्ने बोध स्व ले गराउँछ ।
…उपन्यास स्व अवश्य पढ्नुहोस्, आफैंलाई चिन्नुमा सहायक बन्नेछ ।