काँकडभिट्टा नाकामा कडाइ, रात्रिकालीन गस्ती
झापा । बंगलादेशमा उत्पन्न राजनीतिक घटनाक्रमले बंगलादेशी नागरिक प्रवेश तथा सम्भावित घुसपैठको जोखिम बढेपछि नेपाल–भारत सीमानाकामा कडाइ गरिएको छ । पूर्वी काँकडभिट्टादेखि पश्चिम गड्डाचौकीसम्मका नाकामा कडाइ गरिएको हो ।
नाकामा तैनाथ सुरक्षाकर्मीले आवतजावत गर्ने सबैको परिचयपत्र अनिवार्य हेर्ने गरेका छन् । नाकाको जोखिमअनुसार सादा पोसाकमा प्रहरी परिचालन गर्नेदेखि प्रहरीले रात्रिकालीन गस्ती गर्नेसम्मका गतिविधि पनि बढाएका छन् ।
बंगलादेशसँग करिब ३८ किलोमिटरको दूरीमा रहेको नेपाल–भारत सीमानाकामा कडाइ गरिएको छ । बंगलादेशसँग नजिक रहेकाले झापामा कडाइ गरिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुला सीमानामा दिउँसो र रात्रिकालीन गस्ती गरिरहेका छन्,’ उनले भने, ‘बंगलादेशी नागरिकको सम्भावित प्रवेशलाई रोक्न नाकामा कडाइ गरेका हौँ । सशस्त्र प्रहरीको एक नम्बर बाहिनीबाट थप मद्दतका लागि टोली पनि आएर नाकामा कडाइ गरेका छौँ ।’
प्रशासनले अध्यागमन कार्यालय काँकडभिट्टालाई पनि कडाइ गर्न निर्देशन दिइएको छ । ‘बंगलादेशसँग हाम्रो सीधै सिमाना छैन । भारतसँगको सिमाना छ । भारतले पनि कडाइ गरेका कारण बंगलादेशी नागरिक आएका छैनन्,’ प्रजिअ बाँस्तोलाले भने, ‘भारतमा छिरे भने हामीलाई समस्या हुने हो । अहिले छिरेका छैनन् । भारतीय पक्षसँग पनि सहकार्य गरिरहेका छौँ ।’
अगस्त १ मा भारतले तेस्रो देशका नागरिकका लागि आवतजावत खुला गरेयता हालसम्म दुई बंगलादेशी नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । तीमध्ये एक बंगलादेशी नागरिक स्वदेश फर्किएको कार्यालय प्रमुख मोहन पनेरूले जानकारी दिए । उनका अनुसार एकजना नेपालमै छन् । ‘त्यसवेला हामीलाई कडाइ गर्न निर्देशन थिएन । भर्खर नाका खुलेकाले गलत सन्देश जाने हुनाले प्रवेश दियौँ,’ उनले भने, ‘अहिले कडाइ गर्ने निर्देशन छ । बंगलादेशी नागरिकले प्रवेशका लागि निवेदन दिए स्वीकार नगर्ने, नेपाल आएमा सुरक्षाकर्मी र प्रशासनलाई जानकारी गराएर स्वदेश फर्काउने निर्देशन छ । तर, हालसम्म बंगलादेशी नागरिक आएका छैनन् ।’