जनरल नर्सिङ कार्यक्रम लागू गरेर पिसिएल तह ‘फेजआउट’ गर्ने तयारी
काठमाडाैं । नेपालमा नर्सिङ शिक्षामा नयाँ अभ्यास अपनाउने तयारी गरिएको छ । विदेशी मुलुकले नर्सिङ शिक्षामा अपनाउँदै आएको जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने चिकित्सा शिक्षा आयोगको तयारी छ । यो कार्यक्रम लागू गरेपछि स्वतः पिसिएल कार्यक्रम ‘फेजआउट’ गरिँदै लगिनेछ ।
यसअघि सञ्चालन हुँदै आइरहेको प्रणालीमा नर्सिङ कोटा कम भएको र त्यसले नर्सको माग पूर्ति गर्न नसक्ने देखिएको भन्दै आयोगले आगामी वर्षदेखि जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । आयोगका अनुसार जनरल नर्सिङ पढ्न कक्षा ११ र १२ मा जुनसुकै विषय वा संकाय पढेका विद्यार्थीले पनि पाउनेछन् । यो तीनवर्षे कार्यक्रमका रूपमा सुरु गर्ने तयारी भइरहेको छ ।
हाल नेपालमा एसइई उत्तीर्णपछि पिसिएल नर्सिङ, कक्षा ११ र १२ उत्तीर्णपछि बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफ र बिएनएस नर्सिङ शिक्षा पढ्न पाउने व्यवस्था छ । तर, जनरल नर्सिङ पढ्न विद्यार्थी विदेश जाने गरेको र पिसिएल नर्सिङ कार्यक्रम विदेशी मान्यताअनुसारको नभएकाले आयोगले नयाँ कार्यक्रम लागू गर्न खोजेको हो ।
नयाँ कार्यक्रमबारे आयोगले सात महिनाअघि नै कार्यदल गठन गरेर अध्ययन गरिसकेको छ । यसबाहेक जनरल नर्सिङ कोर्स पढाउन पाठ्यक्रम पनि स्वीकृत भइसकेको छ । यो कोर्स कुन विश्वविद्यालयले चलाउने र कसरी चलाउने भन्नेबारे भने पूर्ण तयारी भइनसकेको आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका प्रमुख प्रा.डा. सुदीप आचार्यले बताए । ‘जनरल नर्सिङ कार्यक्रम नेपालमा आवश्यक छ । तर, यो कार्यक्रम यसै वर्षदेखि लागू गर्न सकिने अवस्था छैन । धेरै विषयमा छलफल पनि गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अर्को वर्षदेखि उक्त कार्यक्रम सञ्चालन हुन्छ ।’ नयाँ पत्रिकामा खबर छ ।