वर्षको चौथो ‘हिट’ बन्दै ‘घरज्वाइँ’ले पूरा गर्यो ५१औं दिन
घरेलु बक्स अफिसमा फिल्म ‘घरज्वाइँ’ नपत्याउने खोलाजस्तै बन्यो । निरन्तरको वर्षा र ठूला भारतीय फिल्मको चुनौतीका बीच गत असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्मका गीतदेखि ट्रेलरले समेत खासै राम्रो हाइप बनाएका थिएनन् । तर, हलमा भने दर्शक ओइरिए । अन्ततः यो वर्षको चौथो हिट फिल्म बनेको छ । यसअघि ‘बोक्सीको घर’, ‘मनसरा’ र ‘पूजार सार्की’ सफल भएका थिए ।
फिल्मले व्यावसायिक सफलतासँगै नेपालमा दुर्लभ बनेको प्रदर्शनको ५१औं दिन समेत पूरा गरेको छ । शनिबार देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीनवटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको क्यूएफएक्स चेनको सिटी स्क्वायर हल र नेपालगन्जस्थित सिने रोयल हलमा फिल्मले ५१औं दिन मनाउन सफल भएको हो ।
यो फिल्मले ५१औं दिनसम्ममा लगभग ६ करोडको व्यापार गरेको जानकारी प्राप्त छ । बढीमा २ करोडको बजेटमा निर्माण भएको फिल्मले निर्मातालाई लगानी उठाएर नेपालबाट मात्र डेढ करोडमाथि मुनाफा दिनसक्ने देखिन्छ । विदेश प्रदर्शन अधिकारबाट पनि निर्माताले राम्रो रकम हात पारेको जानकारी प्राप्त छ । यो फिल्म सफल हुनुमा आदिवासी जनजाती समुदायको ठूलो योगदान छ ।
मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर बनेको फिल्मलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन् । यसमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ । दयाहाङ र मिरुनाको जोडीको ‘घरज्वाइँ’ यस वर्षको दोस्रो ‘हिट’ फिल्म हो । गत बैशाखमा उनीहरुको ‘मनसरा’ पनि सफल भएको थियो ।