वरीयता मिचेर ‘आफ्ना’लाई नियुक्ति अपमान भएपछि ओलम्पियन संगिनाले दिइन् राजीनामा
काठमाडाैं । सरकारले तल्लो वरीयताका अर्का व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) तालिम तथा प्रशिक्षण विभाग निर्देशकमा नियुक्ति गरेपछि तेक्वान्दोकी संगिना वैद्यले उपनिर्देशक पदबाट राजीनामा दिएकी छिन् । सम्मान र प्रोत्साहनको सट्टा सरकारले अपमान गरेपछि कीर्तिमानी खेलाडी वैद्य राजीनामा दिन बाध्य भएकी हुन् । वैद्य सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ठाडो हस्तक्षेप गर्दै वैद्यभन्दा तल्लो वरीयता (कोशी प्रदेश नायब वरिष्ठ प्रशिक्षक) सोभितराज प्रसाईंलाई निर्देशक बनाएका छन् । राखेपको ६१ वर्षे इतिहासमा हालसम्म यस्तो हस्तक्षेप भएको थिएन ।
आइतबारै वैद्यले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामापत्र बुझाएकी छिन् । ‘मप्रति गरेको अपमानका कारण बाध्य भएर उपनिर्देशकबाट राजीनामा दिएको हो । नियम र कानुनअनुसार जाने हो भने निर्देशक बन्ने मेरो पालो थियो । तर, राज्यले नै हस्तक्षेप गरेर मभन्दा जुनियर ल्यायो । त्यसपछि सोही पदमा बस्न ठिक लागेन र राजीनामा दिएँ । राज्यले पहिलोपटक महिला निर्देशक पाउँदै थियो । तर, यहाँ हस्तक्षेप भयो,’ उनले नयाँ पत्रिकासँग भनिन् ।
यदि निर्देशक पदमा नियुक्त भएको भए कीर्तिमानी वैद्य तालिम तथा प्रशिक्षक विभाग प्रमुख बन्ने पहिलो महिला हुने थिइन् । वैद्यले आफ्नो सेवावधि सकिन आठ वर्षअघि नै पदबाट राजीनामा दिएकी छिन् ।मन्त्रीकै ठाडो निर्देशनपछि सदस्यसचिव घिसिङले शुक्रबार नै प्रसाईंलाई नियुक्ति–पत्र दिएका छन् । दवावकै कारण नियुक्तिको विषयमा राखेप सदस्यसचिव घिसिङले ‘केही नबोल्ने’ प्रतिक्रिया दिए ।
कोशी प्रदेशमा कराँते प्रशिक्षण गराइरहेका प्रसाईंलाई कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाको दबाबमा मन्त्री चौधरीले निर्देशक बनाएको आरोप छ । तर, प्रसाईंले आफूले निर्देशक बन्न हस्तक्षेप नगरेको दाबी गरेका छन् । ‘मैले हस्तक्षेप गरेर निर्देशक पद लिएको हैन । योग्यताअनुसार नै पाएको छु । संगिनाभन्दा पनि म सिनियर भएको दाबी गर्छु । त्यसका लागि राखेपमा गएर कागजपत्र हेर्नुहोला । सबै कागज र प्रक्रिया हेरेर नै सदस्यसचिव र मन्त्रीज्यूले नियुक्त गर्नुभएको छ । मलाई मिडियाबाजी गर्न मन पर्दैन । शुक्रबार नै मैले नियुक्ति–पत्र लिइसकेको छु । अब, चाँडै कार्यभार सम्हाल्न काठमाडौं फर्कन्छु,’ उनले नयाँ पत्रिकासँग भने ।
नियुक्तिका आधारमा पनि प्रसाईं वैद्यभन्दा एक महिना पछाडि छन् । यसअघि वैद्यले ३० भदौ ०५२ मा राखेपमा नियुक्ति पाएकी थिइन् भने उनको बढुवा २१ पुस ०६३ मा भएको थियो । विराटनगरका प्रसाईंको नियुक्ति १ असोज ०५२ मा भएको थियो । बढुवा २६ पुस ०६४ मा भएको हो । प्रसाईंको सेवावधि ०८२ वैशाखसम्म मात्रै छ ।
अघिल्लो साता सेवा निवृत्त भएपछि विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्माको बिदाइ भएको थियो । यसपछि उपनिर्देशक रहेका वैद्य र विष्णुबहादुर सिंहमध्ये एकको बढुवा हुनुपर्ने थियो । तर, मन्त्री तेजुलाल चौधरीले ठाडो हस्तक्षेप गर्दै कोशी प्रदेशमा कार्यरत प्रसाईंलाई नियुिक्त दिलाएका हुन् ।
मन्त्री चौधरीले नियुक्ति प्रक्रियामा आफ्नो केही नचल्ने र सिनियर कोही भए निर्देशक बन्न पाउने बताए । ‘नियुक्ति प्रक्रियामा मेरो केही चल्दैन, नियुक्ति–बढुवा सबै काम सदस्यसचिवको हो । मैले उहाँलाई सिनियरअनुसार निर्देशक चाहियो भनेर निर्देशन गरेको छु । मलाई को सिनियर थाहा हुँदैन, उपनिर्देशक नै निर्देशक हुनुपर्छ मात्रै थाहा छ,’ उनले भने, ‘सिनियर कोही छ भने निर्देशक बन्न पाउँछ । नयाँ आउनेको पनि ६ महिनापछि जिम्मेवारी सकिन्छ ।सदस्य सचिवलाई मिलाएर जानुस् भनेको हो ।’नयाँ पत्रिकामा खबर छ ।