मनसुन आज थप सक्रिय, कोशीमा उच्च जोखिम
झापा। देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिषेश गरेर कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।