मलेसियाद्वारा श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा
काठमाडौँ । मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् ।
मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समानरुपमा लागू गर्दै आइरहेको छ । मलेसियाले देशगतको आधारमा तलबमा विभेद गर्ने गरेको छैन । यो बढेको तलब आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इव्राहिमले बताए । तर, ५ जनाभन्दा कम श्रमिक भएको रोजगारदाताले भने आउँदो अगस्ट १ देखि कार्यान्वयनमा ल्याउनुपर्ने प्रधानमन्त्रीको घोषणा छ ।