दराज अनलाइनले ठग्यो १९ लाख
झापा । झापा बिर्तामोडकी एक युवतीबाट दराज ज्यापुचः भन्ने अनलाइनले करिब १९ लाख रुपैयाँ ठगेको आरोप लागेको छ ।
बिर्तामोड–२ बस्ने ती युवतीबाट सो अनलाइनले रकम ठगी गरेको हो । विद्यार्थी भिसामा दक्षिण कोरिया जान आइइएलटिएस पढिरहेकी युवतीको लागि बैंक ब्यालेन्स देखाउन सेल्टा एजुकेट कन्सल्टेन्सीले उनको एनआइसी एसिया बैंकमा रहेको खातामा ३० लाख रुपैयाँ जम्मा गरिदिएको थियो । सो रकम दराज ज्यापुचः अनलाइनले ठगी गरेको हो ।
टास्क खेल्ने क्रममा उनले सो रकम डुबाएकी हुन् । पहिलो टास्कमा उनले ५०० रुपैयाँ खेल्दा ९०० रुपैयाँ प्राप्त गरेकी थिइन् । त्यसपछि दुई हजार खेल्दा तीन हजार ५०० प्राप्त गरेपछि ६ हजार, नौ हजार, २६ हजार, ५९ हजार गर्दै मेलिसाबाट सो अनलाइनले १८ लाख ४४ हजार रुपैयाँ ठगी गरेको हो ।
अनलाइनले ३६ वटा टास्क निर्धारण गरेको र आफूले १५ वटा टास्क खेल्दै गर्दा सो रकम डुबेको उनले बताएकी छन् । अनलाइनले १, २ र ३ लेभल तोकेर तीनवटै लेभल पार गर्नसके ठुलो धनराशि जित्नसक्ने भनेर झुक्याएको थियो ।
पीडित युवती बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र आफ्ना अभिभावकसहित आइतबार उजुरी दिन इलाका प्रहरी कार्यालय बिर्तामोड आएकी थिइन् ।
बिर्तामोड प्रहरीकहाँ उजुरी दिँदा प्रक्रिया लामो हुने भएकाले साइबर ब्युरो काठमाडौँमै गएर उजुरी दिन आफूले सल्लाह दिएको डिएसपी प्रकाश विष्टले बताए । उनले यसरी अनलाइनबाट ठगिने क्रम बढ्दै गएको जानकारी दिएका छन् ।
स्रोतका अनुसार सेल्टा एजुकेट कन्सल्टेन्सीले खातामा राखिदिएको ३० लाख रुपैयाँ बापतको जग्गा नै ती युवतीको परिवारलाई दवाव दिएर राजिनामा पास गराएर हडपेको छ । सेल्टा एजुकेट कन्सल्टेन्सीलले ती यसवतीको खातामा पैसा जम्मा गर्दिएको दुई दिनमा नै दराज ज्यापुचः अनलाइनको टास्क खेल्ने गेम उनको मोवाईलमा आउनु प्रलोभन देखाउनुलाई कन्सल्टेन्सीको समेत मेलेमतो हुन सक्ने स्रोतको दावी छ ।