झापा ट्राफिकको ध्यान दुर्घटना न्युनिकरणमा होइन अशुलीमा
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापामा कार्यरत ट्राफिक प्रहरीको ध्यान दुर्घटना न्यनिकरणमा भन्दा असुली धन्दामा गए पछि झापामा दुर्घटनाको संख्या बढेको छ । झापामा दशैंको अवधिमा ७६ वटा सवारी दुर्घटना भए । दुर्घटनामा ६ जना पुरुषसहित एक महिला गरी सात जनाले ज्यान गुमाए ।
तथ्याङ्कले गत वर्षभन्दा यसपटक दुर्घटना बढेको देखाउँछ । गत शनिबार मात्र झापाको कमल गाउँपालिकामा सवारी दुर्घटनामा एक पुरुषको ज्यान गयो । राजमार्गमा गुड्ने बसे ती पुरुषलाई करिब १५० मिटर घिसारेर ज्यान लियो । जसले झापामा सवारी दुर्घटनाको अवस्था कस्तो छ भन्ने देखाउँछ । दुर्घटना न्युनिकरणमा ध्यान दिनुपर्ने ट्राफिक प्रहरी भने बेखबर छ । आजकाल पूर्वपश्चिम राजमार्गमा खासै ट्राफिक चेकिङ छैन ।
जसले गर्दा सवारी साधन ट्राफिक नियम उल्लङ्घन गरिरहेका छन् । ट्राफिक प्रहरीको ध्यान दुर्घटना न्युनिकरणमा जाओस् पनि कसरी ? दुर्घटना न्युनिकरणमा ध्यान जाँदा मासिक लाखौँ अवैध कमाइ गुम्ने खतरा छ । तर, जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख इन्सपेक्टर गणेश पौडेल भने बाटोको अवस्थाले सवारी दुर्घटना बढेको दाबी गर्छन् ।
झापा समाल्न आउने ट्राफिकका हाकिमले करोड रुपैयाँ लिएर फूलमाला, खादा लगाएर, विभिन्न संघसस्थाले दिएको उत्कृष्टताको ’पगरी’ भिरेर बिदा हुन्छन् । जिल्लाभरि रहेका ट्राफिक बिट र यातायात संघमा मुन्सी’ खटार मासिक अशुल्ने बानी परेका ट्राफिक हाकिमलाई ट्राफिक व्यवस्थापनको चासै छैन ।
जिल्लामा हाकिम भएर आउनै लाखौँको झोला उपल्लो हाकिमलाई सुटुक्क थमाएर सरुवाको पत्र बुझ्ने गरेकाले झापामा पाइला राखेको भोलिपल्टबाटै आफू मातहतका ट्राफिकलाई राखेर अधिकतम अशुल्ने रणनीति बनाउने गरेका छन् । साहयक हवल्दार विष्णु बजर्गांइ, वरिष्ठ सई अर्जुन सोडारी, महिना दिन अगाडि झापा ट्राफिक कार्यालयको कुर्सी घुमाएका इन्पेक्टर गणेश पौडेललाई बुझाउनु पर्ने भन्दै मातहतको बिट, यातायात संघलगायतबाट मासिक लाखौँ रकम असुलेर गोजी तताउने गरेका छन् । सहायक हवल्दार विष्णु बजर्गांइलाई अशुलीको नाइकेका रूपमा प्रयोग गर्ने गरेको पाइएको छ । वरिष्ठ सई अर्जुन सोडारीले इन्पेक्टर पौडेललाई विभिन्न ठाउँमा सेटिङ मिलाउनुपर्ने भन्दै झुक्याएर अशुलीको ७५ प्रतिशत कुम्ल्याउने गरेको ट्राफिक स्रोतले बतायो । साहयक हवल्दार बजर्गांइ र वरिष्ठ सई सोडारीकै मिलेमतोमा सबै सेटिङको काम हुने गरेको एक ट्राफिक हवल्दारले बताए ।
काँकडभिट्टाको ट्राफिक बिटबाट मासिक २५ हजार, चारआली बिटबाट २० हजार, बुधबारे बिटबाट ३० हजार, सुरुङ्गा बिटबाट २० हजार, केर्खा बिटबाट १५ हजार, दमक ट्राफिकबाट १५ हजार, गौरादह बिटबाट १५ हजार अतिरिक्त रकम ट्राफिकका हाकिमले अशुल्ने गरेका छन् । यी बिटहरुमा इन्चार्ज तोकेर पठाउने बेलामानै बढी रकम बुझाउने कबोल गर्नेलाई डाकबडाबडमा पठाउने गरेको ट्राफिक स्रोतले बतायो । एक बिट इन्चार्ज भने, ’के गर्नु अशुली गर्न सकिएन भने तलवबाटै भए पनि बुझाउनु पर्छ । महिना मरेको एक दिनमात्र ढिलाभयो भने मोवाइलको घण्टी बज्छ ।’
झापाका सडकमा दैनिक कुद्ने ट्याक्टर, ट्रिपरलाई ओभर लोड, भारि नछोपेको बाहाना दैनिक १ हजार जरिमाना गर्ने गरेका छन् भने मासिक पैसा बुझाउने शर्त गरेरमा जे गर्दा पनि छुट दिने गरेको एक ट्रिपर व्यावसायीले बताए । उनका अनुसार ट्याक्टर र ट्रिपरले सासिक ५ हजार ट्राफिकलाई बुझाएपछि केही मतलव हुँदैन ।
पूर्वाञ्चल ट्याक्सी संघबाट मासिक ५० हजार, सगरमाथा यातायात, सूर्योदय यातायातलगायतका प्रत्येक बसहरूसँग मासिक २ हजार ५ सय लिने गरेका छन् । मासिक २ हजार ५ सय बुझाएपछि ओभर स्पिड कुदाउन, यात्रु जहाँ पायो त्यहाँ ओराल्न तथा चडाउन छुट छ । यही कारण झापामा दुर्घटना बढेको स्थानीयको बुझाई छ ।
सिटीसफारी, अटोसँगसमेत मासिक अशुली गर्न थालिएको एक सिटीचालकले बताए । हाकिमसाबलाई पैसाले गोजी भरेरमा मात्र मन भरिँदैन । मख्खन मिल धाइज, मित्तल एग्रो, भ्याली एग्रोलगायत खाद्यान प्रशोधन संस्थाबाट मासिक पेट्रोल, डिजेल लिने गरेका छन् । झापाका तारे होटल, क्यासिनोबाट समेत उपहार स्वरूप सरसामान थाप्न झापा आएका हाकिमहरु लम्पसार पर्छन् ।
झापाका माईपश्चिमका ट्राफिक बिटहरुले राजस्व दाखिला बिलनै एउटै नम्बरका दुईवटा काट्ने गरेको स्रोतको दाबीछ । ट्रायलमा समेत मिनी सेटिङ गरेर ट्राफिक प्रहरीले अशुली गर्ने गरेका छन् । टेम्पो, मोटर साइकल, लाइट गाडी, हेवीगाडी, ब्याक्हो लोडरको सेटिङमा ५ हजार देखि ५० हजारसम्म चप्काउने गरेका छन् । यो रकम वरिष्ठ सई सोडारी एक्लैले कुम्ल्याएको भन्दै ट्रायलमा बस्ने अन्य ट्राफिकले गुनासो गर्ने गरेका छन् ।