हत्याकाण्ड दबाउन कमरेडहरु नै अग्रसर
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक यतिबेला आक्रान्त छ । जग्गा विवादमा कुटपिट गरी मारिएका दमक–९, का ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने मागसहित उनका आफन्तजन निरन्तर प्रदर्शनमा छन् ।
उनीहरुले राजनीतिक दबाबका कारण घटनामा संलग्न व्यक्तिलाई प्रहरीले उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै आएका छन् ।
गत कात्तिक ६ गते दमक–३, स्थित बेलडाँगी मधुमल्ला सडक खण्डअन्तर्गत मावा खोला किनार जग्गाको विषयमा विवाद चर्कियो ।
उक्त विवाद मिलाइदिनका लागि मोरङ उर्लाबारी–७, का ४९ वर्षीय ध्रुव गौतमले निरौलालाई त्यहाँ बोलाए । विवाद मिलाउन पुगेका उनीमाथि सांघातिक आक्रमण भयो । राजु भनिने शेरबहादुर लिम्बु, बुद्धिमान थापा,नमकुमार चेम्जोङ, डेबिट घले,प्रकाश कार्की,ध्रुव गौतम र गणेश दर्जीले उनीमाथि सांघातिक कुटपिट गरी हत्या गरेको आरोप छ ।
निरौलाको हत्यामा संलग्नलाई एमालेकै नेताको संरक्षण रहेको आरोप छ । बुद्धिमान एमालेबाट निर्वाचित झापा क्षेत्र नम्बर ५ (क) का प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् । उनी एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाइ र केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीका सालो पनि हुन् ।
यस्तै, अर्का आरोपित चेम्जोङ पनि एमालेनिकट युवा संघका पूर्व केन्द्रीय सदस्य हुन् । शुरुमा गोविन्दले जाहेरी नलिन झापाका प्रहरी प्रमुख एसपी मिलन केसीलाई दबाब दिएको तर,आन्दोलनले उग्र रुप लिएपछि प्रहरी जाहेरी लिन बाध्य भएको बताइन्छ ।
मृतककी श्रीमती कृष्णमायाले घटनामा संलग्न सातै जनाविरुद्ध कर्तज्य ज्यानसम्बन्धी कसुरमा किटान जाहेरी दिएकी छन् । तर, प्रहरीले हालसम्म जाहेरी परेकामध्ये तीन जनालाई मात्र समातेको छ । मोरङको उर्लाबारी घर भएका ४२ वर्षीय प्रकाश कार्की, ४९ वर्षीय ध्रुव गौतम र संखुवासभाका २६ वर्षीय गणेश दर्जी त्यसरी समातिएका हुन् ।
बुद्धिमान र नमलाई पक्राउ नगर्न एमाले नेता तथा सांसदहरुले निरन्तर प्रहरीलाई दबाब दिइरहेको स्रोतको दाबी छ । ‘हत्यामा आफ्ना कार्यकर्ता संलग्न भएकाले पहिल्यै प्रहरीलाई जाहेरी नलिन भनिएको थियो तर प्रहरीले लियो,’ स्रोतले भन्यो, ‘अहिले गोविन्दसहित एमाले नेताहरु उनीहरुलाई पक्राउ नगर्न झापाका एसपीलाई निरन्तर दबाब दिइरहेका छन् ।’
गोविन्द दमकस्थित केपी ओलीको डृम प्रोजेक्ट “नेपाल-चीन औद्योगिक पार्क” का प्रमुख पनि हुन् ।
गुण्डा नाइके ‘चरी’ ले किनेका थिए जग्गा
दमक–३, स्थित बेलडाँगी मधुमल्ला सडक खण्डअन्तर्गत मावा खोला किनारको उक्त जग्गा प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके भनेर चिनिने दिनेश अधिकारी ‘चरी’ ले खरिद गरेको पाइएको छ । स्रोतका अनुसार चरीसहित एमाले कार्यकर्ताले उक्त जग्गामा क्रसर उद्योग सञ्चालन गर्ने तयारी गरेका थिए ।
तर, चरीको निधनपश्चात् क्रसर उद्योग चलेन । २०७१ साउन २२ गते प्रहरीसँगको भिडन्तमा चरीको मृत्यु भयो । काठमाडौंको भीमढुंगा जंगलमा प्रहरीसँग मुठभेडका क्रममा मारिएका चरीलाई त्यतिबेला शहिद घोषणा गर्न एमाले सांसदहरुले नै माग गरेका थिए ।
आफन्तले बुझेनन् शव
मृतक निरौलाका परिवारजनले अझै शव बुझ्न मानेका छैनन् । उनको शव सात दिनदेखि दमक अस्पतालमा राखिएको छ । आफूहरुले दिएको जाहेरीका आधारमा प्रहरीले राजनीतिक दबाबका कारण आरोपीहरुलाई पक्राउ नगरेको भन्दै मृतक निरौलाका आफन्तहरु निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।
शनिबार इलाका प्रहरी कार्यालय दमकअगाडि टायर बालेर उनीहरुले विरोध समेत जनाएका थिए । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही नभएसम्म निरौलाको शव नबुझ्ने परिवारजनको अडान छ । जनआस्थाबाट