अब अधुवा खोलामा स्थायी रुपमा छठ पूजा गरिने
झापा । विगत ६ दशक बढीको इतिहास बोकेको बिर्तामोड– ३ बिर्ताबजारस्थित अधुवा खोलामा अब स्थायी रुपमा छठ पूजा गरिने भएको छ ।
२०७१ सालदेखि स्थगित भएर नेपाल मधेसी समाज सेवा समितिले गत वर्षदेखि छठ पूजा शुरुवात गरेको अधुवा खोलामा कोशी प्रदेश सरकारले छठ पूजाका लागि तटबन्धसहित पूजास्थल निर्माण गरिदिने भएको हो । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको पहलमा बिर्ताबजारस्थित अधुवा खोलामा तटबन्ध र स्ल्यावसहित पूजास्थल निर्माण गरिने भएको हो । जसको लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
विगतमा प्रदूषणमुक्त रहेको ऐतिहासिक अधुवा खोलालाई दुर्गन्धित बनाउँदै लगेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री कार्कीले अब अधुवा खोलाको सौन्दर्यकरणमा स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिए । गत वर्ष अधुवा कोरिडोरका लागि बजेट छुट्टिएर काम शुरु भएकोमा जग्गा विवादका कारण काम रोकिएको बताउँदै मन्त्री कार्कीले त्यसलाई पुरा गरिनुपर्ने आबश्यकता औल्याए ।
नेपाल मधेसी समाज सेवा समितिद्वारा हिजो साँझ आयोजित छठ पूजा समारोह तथा सांस्कृतिक कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री कार्कीले अर्को वर्ष पक्की बनेपछि ब्रतालुहरुले बालुवा थुपारेर पूजास्थल निर्माण गर्न नपर्ने बताए ।
नेपाल मधेसी समाज सेवा समितिले अधुवा खोलामा गत वर्षदेखि छठ पूजा शुरु गरेको हो । यस वर्ष भव्य रुपमा छठ पूजा आयोजना गरिएको थियो । पचास हजारभन्दा बढी बत्तीको झिलिमिली पूजाको मुख्य आकर्षण रहेको थियो । जसका कारण यस वर्ष अरु ठाउँभन्दा बिर्ताबजारको छठ पूजाको चर्चा चलेको थियो । पूजामा ब्रतालु र दर्शक गरी हजारौको सहभागिता रहेको आयोजकले जनाएको छ ।
गत वर्षभन्दा यस वर्ष धेरैको सहभागिता रहेको बताउँदै आयोजक संस्थाका अध्यक्ष रामेश्वर मण्डलले आगामी वर्ष अझ उत्कृष्ट गर्ने जानकारी दिए । उनले विगत ६ दशकदेखिको पुरानो ऐतिहासिक ठाउँलाई पुनस्र्थापित गर्न आफूहरु लागिपरेको बताए । अधुवा खोलालाई छोडेर बिरिङ गएकाहरुलाई फर्काउने आफूहरुको योजना रहेको उनको भनाई छ ।
खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री कार्कीको प्रमुख आतिथ्य एवं आयोजक संस्थाका अध्यक्ष मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौला , नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुवास भट्टराई , राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रन्जु प्याकुरेल, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , नेपाल मुस्लिम संगठनका केन्द्रीय सचिव अफ्रोज खानलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक संजय शर्माले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सन्तोष दास र शिला शाहले गरेका थिए । कार्यक्रममा अनुराधा राजवंशी ,रोशन अधिकारीलगायत राष्ट्रिय तथा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।