नेकपा एमाले इलामको अधिवेशन कार्तिक २९ र ३० गते, ५ सय ८३ जना प्रतिनिधि छनौट
इलाम । नेकपा एमाले इलामको ११औं जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । कार्तिक २९ र ३० गते हुने जिल्ला अधिवेशनका लागि ५ सय ८३ जना प्रतिनिधि छनौट भएका हुन् ।
एमाले इलामले ८१ वटा वडा कमिटी, २२ वटा जनसंगठन तथा पेशागत संगठन, ३ वटा इलाका कमिटी, शाखा कमिटी र एउटा विशेष वडा कमिटी गरी ५ सय ८३ जना प्रतिनिधि छनौट गरेको हो ।
पार्टी सदस्य खुला २० जना बराबर एक जना प्रतिनिधि र दलित ८ जना बराबर एक जनाका दरले ३३ प्रतिशत महिला र १० प्रतिशत युवा सहभागी रहनेगरी समावेशी, दलित, महिला, अल्पसंख्यक,अपाङ्गता भएका व्यक्ति लगायत छनौट गरिएको नेकपा एमाले जिल्ला उपसचिव रबिन्द्र सुवेदीले बताए ।
प्रतिनिधिहरू इलाम नगरपालिकाबाट ११२ जना, सूर्योदय नगरपालिकाबाट ५७ जना, देउमाई नगरपालिकाबाट ५९ जना र माई नगरपालिकाबाट ८७ जना निर्वाचित भएकाछन्। त्यस्तै फाकफोक थुम गाउँपालिकाबाट ४६ जना, चुलाचुली गाउँपालिकाबाट ३५ जना, सन्दकपुर गाउँपालिका बाट ४१ जना, माङसेबुङ गाँउ पालिकाबाट २३ जन, माइजोगमाई गाँउ पालिकाबाट ६१ जना र रोङ गाउँ पालिकाबाट १४ जना निर्वाचित भएको सुवेदीले बताए ।
त्यस्तै ११ नम्बर इलाकाबाट ७ जना, १२ नम्बर इलाकाबाट ३ जना र १३ नम्बरबाट ११ जना निर्वाचित भएका छन् । यता २२ वटा जनसंगठनबाट २७ जना गरी ५ सय ८३ जना प्रतिनिधि रहेको सुवेदीले बताए ।