हलिउड फिल्म ‘फ्र्याक्चर’मा आर्यन, नेपालमा गरियो ७० प्रतिशत छायांकन
अभिनेता आर्यन सिग्देलले पहिलोपटक हलिउड फिल्ममा काम गरेका छन् । अमेरिकी निर्देशक तथा छायाँकार रायन ट्राभिसको निर्देशनमा तयार भएको फिल्म ‘फ्र्याक्चर’बाट उनले हलिउडमा डेब्यु गरेका हुन् । पूर्ण रूपमा अङ्ग्रेजी भाषामा तयार भएको फिल्ममा आर्यनसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्ट पनि मुख्य भूमिका छन् । उनले ‘हलिउड किल्स’, ‘अन्डर द वेस्टर्न सन’, ‘सिरोनिया’, ‘द रेड’ जस्ता फिल्ममा काम गरेका छन् ।
फिल्मको निर्माणमा ‘पूजार सार्की’का निर्माता सुवास भुसालको कम्पनी किङ्डम नेटवर्कले सहकार्य गरेको छ । फिल्मको ७० प्रतिशत छायांकन नेपालमा गरिएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म छायांकन गरिएको फिल्ममा नेपाली कलाकारहरु बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायतको पनि अभिनय छ ।
फिल्मको कथा अमेरिकी सैनिक ज्याक स्टेन्टन पात्रको वरिपरि घुम्छ, जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउनका लागि सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । फिल्ममा मानवीय साहस र सङ्घर्षलाई उतारिएको निर्देशक ट्राभिसले जनाएका छन् । उनले यसअघि हलिउड फिल्म ‘गेम थेरापी’ निर्देशन गरेका थिए । उनले एमी पुरस्कार समेत जितेका छन् ।
फिल्मको विश्वव्यापी रिलिजलाई लिएर अहिले छलफल भइरहेको निर्माता भुसालले बताए । यसमा नेपालबाट मनोज जोशीले प्रोडक्सन कन्ट्रोलरको रुपमा काम गरेका छन् भने विकास सुवेदी लाइन प्रोड्युसर हुन् । क्रिस बेरुटीको लेखन रहेको फिल्ममा क्रिससहित गर्रेट म्याडिसन र एन्ड्र्यू ह्युज निर्मातामा छन् । नेपाल छायांकन पूरा गरेर फिल्मको टिम अमेरिका फर्किसकेको छ