दानबाटै करोडौंको संरचना
विनोद सापकोटा,
झिलझिले । गोलोक गोवर्धन गौशालाले एक दशकयता करोडौँ मूल्य बराबरको स्थायी संरचना निर्माण गरेको छ ।
पछिल्लो समय धार्मिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य बनेको झापाको सताक्षीधाम क्षेत्रमा गोलोक गोवर्धन गौशालाले धमाधम स्थायी संरचना निर्माण गरिरहेको छ ।
१० वर्षअघि मात्र स्थापना भएको गौशालाले धार्मिक पर्यटनमा नेपाल सरकारलाई टेवा पुर्याइरहेको छ । गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजका अनुसार सताक्षीधाम क्षेत्रमा गौशालाले करिब ३० वटा स्थायी संरचनाहरू निर्माण गरिसकेको छ । ‘यी सबै संरचना सर्वसाधारणले दिएको दानबाट निर्माण भएको हो,’ उनले भने ।
नेपाल, भारत, भुटान, अमेरिका, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, डेनमार्क, नेदरल्याण्ड, युके, फिनल्यान्डलगायत विश्वका विकसित मुलुकमा रहेका नेपालीभाषीको दान सहयोगबाट गौशाला परिसरमा ऐतिहासिक भवन निर्माण भएका हुन् ।
१० वर्षको अवधिमा गौशालाले करिब १० करोडको लागतमा भवनहरू निर्माण गरेको छ । त्यसमा केही मठमन्दिर पनि निर्माण भएका छन् । योबाहेक तीन तहकै सरकारबाट पनि संरचना निर्माण भएको गौशालाले जनाएको छ ।
शिवसताक्षी नगरपालिका, कोशी प्रदेश सरकार र संघीय सरकारले करिव १ करोड ५० लाख बरावरको संरचना निर्माण गरेका छन् । शिवसताक्षी नगरपालिकाले संस्कृत गुरुकुलको मैदानमा इन्टरलक ब्लक लगाइदिएको गौशालाले जनाएको छ ।
गौशालाका अनुसार नेपालमा पहिलोपटक द्वादश ज्योतिर्लिङ्ग सताक्षीधाममा निर्माण भएको छ । यो मन्दिर निर्माणका लागि गौशालाले २९ लाख रुपैयाँ खर्च गरेको छ । यही शिवालय मन्दिरका कारण पछिल्लोपटक सताक्षीधाम आउनेको संख्या बढेको छ ।
गौशाला परिसरमा यज्ञशाला, श्रीराम अन्न क्षेत्र गौै मन्दिर, गौ चिकित्सालय,रङ्गदेवी गौ सेवा सदन, राम मन्दिर, गौ सेवा सदन, राधाकृष्ण सदनलगायतका भवन निर्माण भएको छ ।
यस्तै धर्म दर्शन सदन, नन्दी ताल, श्री सताक्षी संस्कृत गुरुकुलम, तुलसी बाटिका, किरातेश्वर शिवको मन्दिर, सन्त निवास, तीन तलाको गौशाला, श्रीराम भोजनालयलगायतका संरचना निर्माण भएका छन् ।
यी संरचना संरक्षणका लागि सताक्षी नदीको तटीय क्षेत्रमा गौशालाले तटबन्ध समेत गरेको छ ।
सताक्षीधाममा निर्माण भएका संरचनामध्ये श्री सताक्षी संस्कृत गुरुकुलमका लागि मात्र गौशालाले १ करोड १५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको छ । यो भवन तीन तलाको छ ।
पछिल्लो पटक गौशालाले सुविधासम्पन्न तीन तलाको अन्नपूर्ण भवन निर्माण गरेको छ । करिब डेढ करोडको लागतमा यो भवन निर्माण भएको हो । भवनको पहिलो तलामा भोजन कक्ष छ । यो कक्षमा एकैपटक ४ सयले भोजन गर्न सक्नेछन् । सताक्षीधाम जाने जो कोहीले यतिबेला आवास र भोजन निःशुल्क पाउने गौशालाले जनाएको छ ।
यस्तै दोस्रो तलामा सत्संग कक्ष छ । यो कक्षमा ५ सय तिर्थालु भक्तजनले सत्संग तथा धार्मिक सभा समारोह आयोजना गर्न सक्नेछन् । यो कक्षमा विभिन्न धार्मिक अनुष्ठानहरू समेत गर्न सकिने गोलोक गोवर्धन गौशालाले जनाएको छ । तेस्रो तलामा ८ वटा भान्सा कोठासहितको आवास कक्ष छ । यो कक्षमा जतिवटा आवास कक्षा छन् , सबै कक्षमा एटेच बाथरूम छ । यो कक्ष धार्मिक नेता, धर्मगुरु वा विदेशबाट आएका धार्मिक व्यक्तित्वका लागि निर्माण भएको हो ।
गोलोक गोवर्धन गौशालाले १० वर्षयता सताक्षीधाम क्षेत्रमा १० करोड माथिका स्थायी संरचनाहरू निर्माण गरिसकेको छ ।
सताक्षीधाम परिसरमा सन्तको आवागमन भएपछि विद्युत, संचार, सडक विस्तार भएको राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालयका शिक्षक गोविन्द काफ्लेले बताए । उनले भने, ‘सताक्षीधाम क्षेत्रमा धार्मिक गुरुको आवागमन नभएको भए सायदै पुरानै हैसियतमा सताक्षीधाम रहने थियो ।’ सन्तको आवागमनपछि सताक्षीधामको सर्वत्र विकास भएको उनले बताए ।
सताक्षीधाम क्षेत्र धार्मिक तथा पर्यटकीय हिसावले पछिल्लो पटक उदाउँदो क्षेत्रका रुपमा विकास भइरहेको छ । सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार बालाचतुर्दशी, शिवरात्री, गुरु पूर्णिमा, रामनवमीजस्ता पर्वमा सताक्षीधाम क्षेत्रमा धार्मिक मेला लाग्ने गरेको छ ।