गरिमा शर्मा : ‘लण्डन टू पेरिस’मा कमजोर, ‘ह्रस्व दीर्घ’मा झिनो सुधार
कोही पनि मानिस कमजोररहित हुँदैनन् । तर, आफ्नो कमजोरी सुधार नगर्नु चाहिँ सबैभन्दा ठूलो कमजोरी हो । अझ कलाकारको हकमा त झन् कमजोरी सुधार्नु अनिवार्य नै मानिन्छ । चाहे अभिनय होस् वा नृत्य । कलाकार भएपछि हरेक कुरामा सकभर निपूर्ण हुनुपर्छ भन्ने मान्यता छ । यसैले लामो रेसको घोडा बन्न कलाकारले कमजोरी सुधारेर आफूलाई सक्षम र सबल बनाउन सक्नुपर्छ ।
फिल्म ‘लण्डन टू पेरिस’बाट डेब्यु गर्दा अभिनेत्री गरिमा शर्मा पनि अभिनयमा कमजोर देखिएकी थिइन् । डाइलग डेलिभरी किताब पढेझैँ देखिन्थ्यो । अनुहारको भावभंगी फिल्मभरि लगभग एकै किसिमको थियो । अन्ततः फिल्म पनि फ्लप भइदियो । जसले गर्दा उनका लागि ‘लण्डन टू पेरिस’ निराशाजनक बन्यो । तर, दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’मा भने उनको अभिनयमा झिनो सुधार देखिन्छ ।
फिल्ममा उनी सहायक अभिनेत्री हुन् । यसैले पर्याप्त मात्रामा ‘स्क्रिन स्पेश’ पाएकी छैनन् । उनको प्रवेश मध्यान्तरपछि मात्र हुन्छ । तर, भूमिका छोटै भए पनि ‘लण्डन टू पेरिस’मा भन्दा उनको अभिनय सन्तोषजनक छ । विशेषगरी भावुक दृश्यमा उनी स्वभाविक लाग्छिन् । तर, अनुहारको भावभंगी र ‘डाइलग डेलिभरी’मा उनको अझै पनि समस्या छ । यद्यपि, उनमा सम्भावना भने देखिन्छ ।
म्यूजिक भिडियोमा राम्रो पकड बनाएकी गरिमा फिल्ममा ‘फुल फेज’ हिरोइन बन्न पाएकी छैनन् । तर, उनले सहायक अभिनेत्रीको रुपमा भए पनि फिल्ममा आफ्नो उपस्थिति जनाइरहेकी छन् । यो उनका लागि अभिनयमा आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । तर, गरिमालाई अब एउटा डर भने रहनसक्छ, ‘सहायक अभिनेत्री मात्र भइरहँदा ‘लिड हिरोइन’ बन्न बाटो नै बन्द हुने त होइन ?’