परराष्ट्रमन्त्री राणा औपचारिक भ्रमणका लागि आज चीन जाँदै
काठमाडौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहनुभएका वाङको निमन्त्रणमा मन्त्री राणाले मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लाग्नुभएको हो ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नुहुनेछ । परराष्ट्रमन्त्री डा राणा मङ्सिर १५ गते स्वदेश फर्कनुहुनेछ।