दुर्गा प्रसाईंको दाहिने हात विदेशमा पक्राउ
झापा । प्रहरी हिरासतमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका एक विश्वासपात्र भारतबाट समातिएका छन् ।
प्रसाईंका तर्फबाट आर्थिक संकलन र परिचालनको मुख्य जिम्मेवारी लिएका नेपाली मूलका भारतीय नवीन प्रधानलाई असामबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार भारतीय अपराधिक समूह लोरेन्स बिश्नोई समूहको सदस्यसमेत रहेका उनीमाथि विभिन्न व्यापारीलाई फोन गरेर धम्क्याउने गरेको आरोप छ ।
उनले भारतमै बसेर प्रसाईंको ‘ऋण मिनाह अभियान’लाई सघाउने गरेका थिए । व्यापारीलाई तर्साउने,रकम उठाउने,युवा परिचालन गर्ने जस्ता काममा उनको संलग्नता रहेको बताइएको छ ।
केही समयअघि सामाजिक अभियन्ता भनिने पुण्य गौतममाथि भएको आक्रमणको घटनामा पनि उता बसेर नेपालमा आतंक मच्याउने यस्तै समूहको हात रहेको प्रहरीले पत्ता लगाएको छ प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको अभियोगमा थुनामा रहेकै बेला आफ्ना विश्वासपात्र पनि समातिएपछि प्रसाईं थप अप्ठेरोमा पर्ने देखिन्छ ।