गिरीबन्धुको फ्याक्ट्री अगाडि कुकर बम राख्ने दुईजना पक्राउ
झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने दुईजना पक्राउ परेका छन् ।
घटना गराएको करिव अढाई महिनापछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नं.६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझी रहेका छन् । बुधवार राजकुमारलाई उर्लाबारी नगरपालिका वडा नं. ७ उर्लाबारी चोकबाट पक्राउ गरिएको हो भने सोही दिन धिरज पथरीशनिश्चरे नगरपालिका वडा नं. १ जातेरोड चोकबाट पक्राउ परेका हुन् ।
घटनापश्चात् फरार रहेका उनीहरुलाई सुक्ष्म रुपमा अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जिल्ला अदालतबाट विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।
गत भदौ २८गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेट प्रा.लि. को पश्चिम पर्खालनजिकै क्षति पुर्याउने उद्धेश्यले उनीहरुले कुकर बम राखेका थिए । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन..?लेखिएको पर्चा त्यहाँ भेटिएको थियो ।