स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, कनकाई-६ को उपनिर्वाचनमा १५१३ मत खस्यो
झापा । रिक्त विभिन्न ४१ स्थानीय तहको विभिन्न पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।
यसै बीच झापाको कनकाई६ मा वडा अध्यक्ष्य पदको लागि भएको उपनिर्वाचनमा कुल १५१३ मत खसेको छ । जम्मा २०५८ मतदातामा १५१३ मत खसेको हो । यस वार्डमा कुल ९ जना उम्मेद्धार निर्वाचनमा होमिएका थिए । असार २ गते यस वडाका वडाअध्यक्ष दिर्घबहादुर थापाको निधन भएसँगै यस रिक्त स्थानमा उपनिर्वाचन भएको हो ।
झापा जिल्लाको एकमात्रै उपनिर्वाचन हुन लागेको यस स्थान हालका प्रधानमन्त्री केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन तथा काग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृह जिल्ला भएकोले समेत यस कनकाई ६ को उपनिर्वाचनलाई महत्वका साथमा हेरिएको छ ।