एक्लाएक्लै लडेको उपनिर्वाचन : कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो
काठमाडाैं । सीमित सिटमै भए पनि यसपटकको उपनिर्वाचन वास्तवमै जनमत परीक्षणको अवसर थियो, किनभने असाध्यै न्यून सिटमा बाहेक प्रमुख तीन दलहरू आ–आफ्नै बलमा मैदानमा थिए । नतिजा संघीय, प्रदेश र स्थानीय तहको शक्ति सन्तुलनभन्दा फरक देखिएको छ । ४४ सिटको परिणाम आउँदा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा छन् ।
संसद्का दुई ठुला दल कांग्रेस र एमालेबिच सत्तागठबन्धनपछि भएको पहिलो जनमत परीक्षणमा दुवै दलले अपेक्षित नतिजा निकाल्न सकेनन् । माओवादीले एमालेलाई उछिनेर बलियो उपस्थिति जनाएको छ । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग तालमेल गरेको संसद्को तेस्रो शक्ति माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा रहेका कारण उसमाथि धेरैको नजर थियो ।
तीन निर्विरोधबाहेक आइतबार ४१ स्थानका लागि भएको निर्वाचनमा सबैजसो दल ०७९ मा निर्वाचित ठाउँमा पराजित भएका छन् र नयाँ–नयाँ स्थानमा विजेता बनेका छन् । कांग्रेसले आठ सिटमा क्षति व्यहोरेको छ । एमालेले अपेक्षाअनुसार नतिजा निकाल्न सकेन । माओवादीले गत निर्वाचनमा भन्दा राम्रो नतिजा निकालेर आगामी निर्वाचनका लागि गठबन्धनविनै लड्न सकिने आत्मबल हासिल गरेको छ । माओवादी अहिले प्रमुख प्रतिपक्ष दल हो ।
काठमाडौं– १६ मा चुनाव जितेर रास्वपाले सहरी जनमत आफ्नो पक्षमा रहेको सन्देश प्रवाह गर्न सफल भएको छ । काठमाडौं– १६ मा कांग्रेस तेस्रो भएको छ । कीर्तिपुरको प्रतिस्पर्धामा माओवादी दोस्रो र एमाले तेस्रो भएका छन् । रौटहटमा एकीकृत समाजवादी, सप्तरीमा जसपा नेपाल, जुम्लामा नेमकिपा र झापामा स्वतन्त्र उम्मेदवारको जितले दुईदलीय प्रणालीको वकालत गरिरहेका नेताहरूलाई झट्का दिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको नतिजाअनुसार ४० पदमध्ये कांग्रेसले एक नगरपालिका प्रमुख र १६ वडाध्यक्षसहित १७ स्थानमा जितेको छ । कांग्रेस दुई जिसस प्रमुखमा निर्विरोध पनि भइसकेको छ । यसरी कांग्रेसले अहिलेसम्म कूल १९ स्थानमा जित निकालेको छ । जब कि पहिले कांग्रेसले जितेका २७ ठाउँमा निर्वाचन भएको थियो । समग्र परिणाममा कांग्रेस पहिलो दल बनेको छ ।
उपनिर्वाचनमा दोस्रो बनेको माओवादीले एक पालिका अध्यक्ष, तीन उपाध्यक्ष र ६ वडाध्यक्ष पद जितेको छ । थप एक वडामा निर्विरोध भएको माओवादीले सात वडामा प्रतिनिधित्व गर्नेछ । माओवादीले ११ स्थान जित निकाल्दै दोस्रो भएको छ । एक पालिका उपाध्यक्षमा माओवादीले अग्रता लिइरहेको छ । माओवादीले पहिले जितेका सात स्थानमा निर्वाचन भएको थियो ।
एमालेले एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्षसहित कुल सात स्थानमा जितेको छ । एमालेले यसअघि जितेका आठ वडामा निर्वाचन भएको थियो । तीन वडाध्यक्ष गुमाएको एमालेले एक पालिका अध्यक्ष र एक उपाध्यक्ष पाएको छ ।
जसपा नेपाल दुई, रास्वपा एक, एकीकृत समाजवादी एक, नेमकिपा एक र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा जित दोहोर्याए पनि कांग्रेसले अरू केही पालिका प्रमुख र उपप्रमुख भने गुमाएको छ । यसअघि जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा जित निकालेको कांग्रेसले यसपटक मत जोगाउन सकेन । त्यहाँ माओवादीकी देवका लामिछाने विजयी बनिन् । त्यस्तै, दैलेखको महाबु गाउँपालिका एमालेले खोस्यो भने अध्यक्षमा एमालेले बाजी मार्यो । उता, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमाले विजयी बन्यो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेसले उम्मेदवार नउठाई गठबन्धन बनाएर एमाले उम्मेदवारलाई समर्थन गर्यो । तर, माओवादी उम्मेदवार विजयी बने ।
एमालेले बोनसस्वरूप कांग्रेसले जितेको दैलेख महाबु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही र स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुलोचना भण्डारी विजयी बनिन् । यसअघि कांग्रेसले जितेको दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा पनि एमालेले जित निकालेको छ । झापाको कन्काई– ६, सुनसरीको गढी– ६, रौतहटको ईशनाथ– ७, गोरखाको गोरखा– ५, दैलेखको दुल्लु– १३, बझाङको सुर्मा– ४, डोल्पाको त्रिपुरासुन्दरी– ५ सहित यसअघि सातवटा वडा जितेकोमा दैलेखको दुल्लु– १३ मात्र एमालेले जित्न सफल भएको छ । तर, उसले माओवादीले जितेको महोत्तरी रामगोपालपुर– ७, कांग्रेसले जितेको ताप्लेजुङको सिरिजंगा– ३, ओखलढुंगाको मोलुङ– ५, कपिलवस्तुको शुद्धोधन– १ सहितका चारवटा नयाँ वडा जितेको छ ।
चुनावी परिणामबाट माओवादी भने उत्साहित देखिएको छ । उसले जितेका आठ स्थानमा निर्वाचन भएकोमा प्रमुख र उपप्रमुखसहित नौ स्थानमा जित हासिल गरेको छ । पुरानो आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाए पनि कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको तथा पश्चिम रुकुमको पुथा उत्तरगंगामा सत्तारूढ कांग्रेस–एमाले गठबन्धन भत्काएर माओवादीले जित हासिल गरेको छ । जाजरकोटको नलगाड उपप्रमुख पनि माओवादीले जितेको छ । माओवादीले यसअघि कांग्रेस र एमालेले जितेका केही वडामा जित निकालेर ६ वडाध्यक्ष पाएको छ ।
प्रदेशगत परिणाम हेर्दा कोशीमा एमाले र कांग्रेसले दुई–दुई वडा जितेको छ । माओवादीले गाउँपालिका अध्यक्ष र दुई वडा गरी तीन स्थान जितेको छ । एक वडामा अग्रता लिइरहेको छ । रास्वपाले समर्थन गरेको स्वतन्त्र उम्मेदवारले एक वडा जितेको छ । मधेशमा कांग्रेस र जसपा नेपाल दुई–दुई तथा एमाले, माओवादी र एकीकृत समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् ।
बागमतीमा कांग्रेसले एक नगरपालिका प्रमुख र तीन वडाध्यक्ष जितेको छ । माओवादीले एक वडाध्यक्ष जितेको छ भने एक पालिका उपाध्यक्षमा अग्रता लिइरहेको छ । रास्वपाले एक वडाध्यक्ष जितेको छ । गण्डकीमा माओवादी केन्द्रले रिक्त एक मात्र वडाध्यक्ष पद जितेको छ । लुम्बिनीमा कांग्रेसले तीन र एमालेले एक वडाध्यक्ष जितेको छ । माओवादीले एक पालिका उपाध्यक्ष जितेको छ ।
कर्णालीमा एमालेले गाउँपालिका अध्यक्ष र वडाध्यक्ष गरी दुई, कांग्रेसले दुई वडाध्यक्ष, माओवादी र नेमकिपाले एक–एक वडाध्यक्ष जितेको छ । एक पालिका उपाध्यक्षमा माओवादीले अग्रता लिइरहेको छ । सुदूरपश्चिममा कांग्रेसले चार वडाध्यक्ष जितेको छ । एमालेले एक उपाध्यक्ष जितेको छ । नयाँ पत्रिकामा खबर छ ।