कोशीमा कोइराला समूहको छुट्टै भेला
झापा । काँग्रेस केन्द्रीय कार्यालयले अवैधानिक घोषणा गरेपनि नेता शेखर कोइराला समूहले आज दिउँसो समानान्तर भेला राखेको छ । शनिबार हुन लागेको काँग्रेस कोशी प्रदेश समितिको सम्मेलनलाई काउण्टर दिन उक्त समूहले आज विराटनगरको जैन भवनमा भेला डाकेको बुझिएको छ ।
कोशी प्रदेशका सबै पालिकाका सभापति र कार्यकर्तासँगै चितवन, कास्की, काठमाडौं, ललितपुर जिल्ला कार्यसमितिका पदाधिकारी र केन्द्रीय पदाधिकारीहरु सहभागी हुने भनिएको समानान्तर भेलाको प्रमुख अतिथि नेता डा. शेखर कोइरालालाई बनाउन लागिएको छ । उक्त भेलालाई नेता मिनेन्द्र रिजाल,अर्जुन नरसिंह केसी, एनपी साउदहरुले पनि सम्बोधन गर्ने जनाइएको छ । मोरङका १७ वटै पालिका संयुक्त आयोजक भनिएको भेलाको मूल संयोजक काँग्रेस विराटनगर महानगर समिति रहेको छ । बेलबारीमा हुने भेलाको बन्द सत्रले काँग्रेसको विद्यान संशोधनबारे आवश्यक छलफल गर्ने छ ।
उता उद्धव थापा सभापति रहेको काँग्रेस कोशी प्रदेश समितिले शनिबार विराटनगरमा भेला आयोजना गर्दै छ । उक्त भेलालाई सभापति शेरबहादुर देउवालगायत अन्य नेताले सम्बोधन गर्ने बताइएको छ । सम्मेलनमा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका समितिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुने छन् ।
सम्मेलनले कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्ने र यसका लागि ६४८ जना प्रतिनिधि सहभागी हुँदैछन् । काँग्र्रेस कोशी प्रदेशको वैधानिक भेला २२ मंसिरमा गर्ने तयारी भैसकेको सभापति उद्धव थापा सहितले यसअघि नै बताएका थिए । लगत्तै पार्टी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरेर कोइराला समूहले आज र भोलि आफ्नो समूहले भेला राखेको जानकारी दिएको हो ।
काँग्रेस प्रदेश समितिको भेलालाई काउण्टर दिन शेखर समूहले पहिले नै समानान्तर भेला आयोजना गरेपछि प्रदेश समितिले भेला रोक्न केन्द्रलाई गुहारेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश समितिको आगामी शनिबार भेला रहेको जनाउँदै त्यसअघि कुनै भेला नरहेको जनाएको छ ।
कोइराला समूहले आफूहरुले पार्टीलाई बलियो बनाउन र विधानबारे छलफल गर्न खोजेको दाबी गरेको छ । काँग्रेस विधानमा फरक भेलाबारे कुनै प्रतिबन्ध नरहेको जनाउँदै काँग्रेस महानगर सभापति दिपक चापागाईंले भने, ‘हामी हाम्रो भेला पनि भव्य रुपले आयोजना गर्छौं । प्रदेश समितिको शनिबारको सम्मेलन पनि सफल बनाउन लागिपर्छौं । यो गुटका लागि होइन पार्टीका लागि हो ।’