किन भएन बीआरआईमा हस्ताक्षर ?
बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहकार्यसम्बन्धी दस्ताबेजमा हस्ताक्षर हुन सकेन । जबकि भ्रमण सुरु हुनुअगावै बीआरआई सहकार्यसँग सम्बन्धित दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति जुटेको भन्दै दुवै दलबीच खुसी साटासाट गरिएको थियो ।
बीआरआईअन्तर्गत अनुदान मात्रै लिने गरी नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्ष अन्तिम समयमा असहमत भएपछि प्रस्तावित ‘फ्रेमर्वक’ को सहमतिपत्रमा हस्ताक्षर हुन नसकेको हो ।
नेपाली पक्षले तयार पारेको ‘फ्रेमवर्क’ प्रस्तावमा हस्ताक्षर गर्न चिनियाँ पक्ष असहमत भएकाले बीआरआईमा हस्ताक्षर हुन नसकेको हो । तर पनि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि नेपालका ९ वटा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबारसम्म जारी रहने भ्रमणबीचमा बीआरआई कार्यान्वयनसँग सम्बन्धित दस्ताबेजमा हस्ताक्षरको अन्तिम कसरत भने जारी रहेको नेपाली अधिकारीहरूले जनाएका छन् ।
‘नेपालले पठाएको फ्रेमवर्कसँग सम्बन्धित दस्ताबेजका विषयमा चिनियाँ अधिकारीहरूले चासो राखिरहेका थिए । तर हामीले तयार पारेको दस्ताबेजमा चिनियाँ पक्षले पुनर्लेखन गरेपछि हस्ताक्षर हुन सकेन,’ भ्रमणमा संलग्न नेपालका एक अधिकारीले भने, ‘चीनले हटाएका शब्दमा थप छलफल गरी सहमति जुटाएर यही भ्रमणका दौरानमा हस्ताक्षर गर्ने प्रयास भइरहेको छ ।’
ती अधिकारीका अनुसार बीआरआईअन्तर्गत बन्ने आयोजनामा ऋण हुने कि अनुदान भन्ने विषयसँग सम्बन्धित शब्दका कारण हस्ताक्षर हुन नसकेको हो ।
‘कांग्रेस र एमालेबीच सहमति गरी चिनियाँ पक्षलाई देखाएर तयार पारिएको मस्यौदामा ‘ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ भन्ने थियो । यसको अर्थ अनुदानमा आधारित सहायता मात्रै भन्ने हो,’ ती अधिकारीले भने, ‘तर हस्ताक्षर गर्ने भनिएको दिन मंगलबार उनीहरूले ग्रान्ट शब्द हटाएर ‘असिन्टेन्ट फाइनासिङ मोडालिटी’ मात्रै उल्लेख गरेर मस्यौदा पठाए । यसको अर्थ ऋण र अनुदान जे पनि हुन्छ भन्ने लागेर हामीले असहमति जनाउँदै ‘एड असिन्टेन्स फाइनासिङ’ भन्ने शब्द राखेर हस्ताक्षर गर्न भन्यौं ।’
लगत्तै नेपाल र चीनका प्रधानमन्त्रीको भेटवार्ताको समय भइसकेकाले चीनले छलफल गर्ने समय अपुग भएको जनाएपछि हस्ताक्षर हुन नसकेको ती अधिकारीले बताए ।
त्यसपछि ‘फ्रेमवर्क अन बेल्ट एन्ड रोड कोअपरेसन’ दस्ताबेजभित्र राख्ने भनिएका र अन्य नयाँ आयोजना सिर्जना गरेर त्यसमा सहमति र समझदारीपत्रमा हस्ताक्षर गरिएको भ्रमणमा संलग्न अधिकारीहरूले अनौपचारिक रूपमा बताएका छन् । ‘तर, अझै पनि हामी फ्रेमवर्कमा हस्ताक्षर गर्न प्रयासमा छौं । दुई देशका परराष्ट्र सचिवबीच बुधबार भए पनि हस्ताक्षर गरौं भन्ने हाम्रो प्रस्ताव छ,’ ती अधिकारीले भने, ‘चिनियाँ पक्षले सकारात्मक छौं भन्ने सन्देश पठाएको छ । प्रधानमन्त्रीकै भ्रमणका क्रममा बुधबार हस्ताक्षर हुने सम्भावना टरेको छैन ।’ हस्ताक्षर नभए निकट भविष्यमै हुनेछ भन्ने प्रतिबद्धता दुवै देशले उल्लेख गर्ने सम्भावना पनि छ । कान्तिपुर दैनिकमा खबर छ ।