झापा कपमा आज राजा क्लब इटहरी र जिटिए दार्जिलिङ खेल्दै
झापा । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ ।
पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश गरेको राजा क्लब आज दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
गत वर्ष चैतको इटहरी गोल्डकपमा भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबलाई टाइब्रेकरमा हराएको राजा क्लब बैशाखमा भएको भीमनारायण गोल्डकपको अन्तिम चारमा पुगेको थियो ।
बाइमा रहेको जिटिए दार्जिलिङ पहिलोपटक झापाली मैदानमा खेल्दैछ । यसअघि मंसिर अन्तिम साता इलाम गोल्डकपमा सहभागी भएको जिटिए एनआरटी काठमाडौँसँग पहिलो खेलमै पराजित भएको थियो ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।