रविसहित ४४ विरुद्ध मुद्दा, सत्ताको आडमा एमाले नेता पहारीलाई भने उन्मुक्ति
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित थप ४४ विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । यसअघि ०८० मा १९ विरुद्ध मुद्दा चलेकामा शुक्रबार मात्र पूरक मुद्दा गएको थियो ।
सरकारी वकिलको कार्यालयले लीला पछाईंलाई सहकारी ठगी, संगठित अपराध, राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरणसँगै मुलुकी संहिताअनुसार थप सजायको मागदाबीसहित मुद्दा चलाएको छ । त्यस्तै, रास्वपा सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी र रामबहादुर खनालविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ । विश्वविक्रम राईविरुद्ध सहकारी ठगी, संगठित अपराध र राष्ट्र बैंक ऐन, २०५८ सँगै मुलुकी संहिताअनुसार थप सजायको मागदाबी गरिएको छ ।
दीपेशकुमार पुन, नेत्रपाणि बाँस्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना श्रेष्ठ र लक्ष्मीप्रसाद पौडेलसहित १५ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएको छ । ज्ञानबहादुर बमजन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेसलकुमार राई, कृष्णबहादुर गुरुङ, देवबहादुर नेपाली, सकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ र ऋतु ताम्राकारविरुद्ध भने सहकारी ठगीको मात्र मुद्दा चलेको छ । सहकारी ठगी कसुुरमा मुद्दा खेपेका ११ जना सूर्यदर्शन सहकारीको ज्ञानबहादुर बमजनको अध्यक्षताको कार्यसमिति हो । तर, कृष्णबहादुर भने ७५ वर्षमाथिका भएकाले कैद छुट सुविधा माग गरिएको छ । सूर्यदर्शन सहकारीको रकम अवैध रूपमा कम्पनीमा ल्याइएको भन्दै आठ कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको छ । जसमा नेचर हब्र्स इन्टरनेसनल, नेचर हब्र्स लिमिटेड, नेचर नेस्ट, जिबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप मल्टी इन्भेस्टमेन्ट, मन्दरा स्पा, स्प्रिङउड रियल स्टेड, नेपाल श्री मल्टी मिडिया र गोरखा मिडिया प्रालि रहेका छन् । लामिछानेपत्नी निकिता, जोशीपत्नी पद्मा बन्जाडे र छोरा रोचक जोशी तथा राधा पछाईं र गीता पछाईंविरुद्ध पनि मुद्दा चलेको छ । उनीहरूबाट स्रोत नखुलेको आयबाट आर्जित सम्पत्ति जफतको माग दाबी गरिएको छ ।
सहकारी ठगीमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो कायम गरिएको छ । जसमध्ये एक अर्ब १४ करोड ६८ लाख ३८ हजार एक हजार १५६ बचतकर्तालाई भराउन भनिएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा गत शुक्रबार मात्र जिबी राईसहित १९ पदाधिकारी, कर्मचारीविरुद्ध एक अर्ब ११ करोड १९ लाख बिगो कायम गरी पूरक मुद्दा दायर भएको थियो । जिबीविरुद्ध संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअन्तर्गत तथा १८ जनाविरुद्ध संगठित अपराधमा अभियोग दर्ता भएको थियो । उनीहरूविरुद्ध यसअघि १८ असोज ०८० मा सहकारी ठगी कसुरमा एक अर्ब ११ करोड १९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो । नयाँ पत्रिकामा खबर छ ।