झापा कपको फाइनल आज, एनआरटीसँग बदला लिने दाउमा चर्च ब्वाइज
झापा । पहिलो झापा कपको उपाधिका लागि सोमबार (आज) शहीद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र ए डिभिजन क्लब न्युनरोड टिम (एनआरटी)बीच खेल हुँदैछ । खेल बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । यी दुई क्लबको भेट एक सातापछि हुँदैछ । गत साता इलाम गोल्डकपको फाइनलमा एनआरटीले चर्च ब्वाइजमाथि ३–० को जित दर्ता गर्दै उपाधि उचालेको थियो ।
एक सातापछि यी दुई क्लबले झापा–११ फुटबल क्लबले आयोजना गरेको झापा कपको उपाधिका लागि फेरि प्रतिस्पर्धा गर्न लागेका हुन् । झापा कपको विजेताले नगद दश लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ ।
९१ वर्षको इतिहास बोकेको एनआरटी र सी डिभिजनबाट लगातार च्यम्पियन बन्दै ए डिभिजन पनि च्याम्पियन बनेर इतिहास बनेएको चर्च ब्वाइजले यसअघिका खेलमा भएको गल्तीलाई सुधारेर उपाधि रक्षा गर्ने योजना बनाएका छन् ।
एनआरटी जागृति फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने चर्च ब्वाइजले सलहेश फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । झापा कपको फाइनलमा चर्च ब्वाइज एनआरटीसँग इलाम गोल्डकपको फाइनल खेलको बदला लिने दाउमा छ । फाइनल अघि आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले एनआरटीविरुद्ध इलाममा भएको गल्तीलाई सच्याउँदै खेल्ने बताए । ‘इलाममा एनआरटीसँग खेल्दा हाम्रा खेलाडीमा केही कमजोरी देखियो । जति खेल्नुपर्ने हो त्यति खेल्न सकेनन् । सबै कुरा मनन गरेर गल्ती सुधार्दै खेल्नेछौँ । अघिल्ला खेल पनि राम्रो भएको छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘चुनौती पनि हुन्छ । मैदानमा सबैको जित्नपर्छ भन्ने सोच हुन्छ । हाम्रो टिम खेल्न तयार छ । यो फाइनल अघिल्लो गल्ती सुधार गर्ने मौका छ । जित्न खेल्छौँ ।’
इलाम गोल्डकपका क्रममा चर्च ब्वाइजका केही स्टार खेलाडी घाइते छन् । नियमित कप्तान अनन्त तामाङले यसअघिका खेलमा पनि सुरुवाती ११ खमा खेलेनन् । क्वार्टरफाइनल गुमाएका अनन्तले सेमिफाइनलको अन्तिम दश मिनेट मात्र खेले । अर्का खेलाडी एरिक विष्टले क्वार्टरफाइनल खेल खेले । तर, चोटका कारण सेमिफाइनल खेल गुमाउन पुगे । प्रि म्याच कन्फ्रेन्समा समेत नियमित कप्तान अनन्त, उपकप्तान एरिक सहभागी भएनन् । कप्तानको रूपमा कमल श्रेष्ठ सहभागी भएका थिए । उनीहरू नखेल्दा चर्च ब्वाइजलाई गाह्रो पर्ने देखिन्छ । सेमिफाइनलमा पनि एरिकको अभाव खड्किएको थियो । सेमिफाइनल खेलमा सहलेशविरुद्ध चर्च ब्वाइजले कठिन जित निकालेको थियो । तर, सुरुवाती ११ मा अनन्तले खेल्ने प्रशिक्षक श्रेष्ठले बताए । यद्यपि एरिकको अझै टुंगो नभएको उनको भनाइ थियो । ‘सम्भवतः अनन्तले खेल्छन् । एरिकलाई सेकेन्ड अप्सनमा राखेका छौँ,’ उनले भने, ‘बेञ्चमा पनि हामीसँग राम्रा खेलाडी छन् ।’
चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले झापा कपको फाइनल अघिल्लो गल्ती सुधार्ने अवसर भएको बताए । आफूहरू जितका लागि खेल्ने उनको भनाइ थियो । चर्च ब्वइजले डोमालाल राजवंशी रंगशालामा नै गत वर्ष झापा गोल्डकपको उपाधि जितेको इतिहास छ । एनआरटी चाहिँ गत वर्षको झापा गोल्डकपमा चर्च ब्वाइजसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो ।
९१ वर्षको इतिहास बोकेक एनआरटीका प्रशिक्षक जीवन सिंकेमानाले इतिहासको नयाँ पान लेख्न एनआरटी प्रयासरत रहेको बताए । उनले इलाम गोल्डकपको इतिहास दोहो¥याउँदै झापा कपको उपाधि उचाल्ने लक्ष्य रहेको बताए । फाइनलका लागि एनआरटी तयार रहेको उनको भनाइ थियो । ‘हाम्रो क्लबको इतिहास लामो भए पनि इतिहासको नयाँ पाना लेख्ने कोशिशमा छौँ । हाम्रो टिम सन्तुलित छ । युवा जोस भएका खेलाडी छन् । अञ्जन विष्टजस्ता अनुभवी खेलाडी पनि छन्,’ उनले भने, ‘हाम्रो बलियो बलियो पक्ष खेलाडी एकताबद्ध छन् एकर्कामा सहयोगी भावना छ । सम्मान छ ।’ यद्यपि एनआरटी झापा कपको सेमिफाइनलमा भने लय गुमाउन पुग्यो ।
उसको फिनिसिङ लाइन कमजोर हुँदा स्कोर निस्कन सकेको थिएन । फाइनल प्रवेशका लागि राष्ट्रि जागृति क्लबसँग एनआरटीले टाइब्रेकरको सहायता लिनुपरेको थियो । ‘सेमिफाइनलमा राम्रो खेल प्रस्तुत गर्न सकेनन् । फाइनलमा मिहिनत गरेर खेलाडीले प्रस्तुत गर्नेछन्,’ उनले भने, ‘फाइनलमा राम्रो फुटबल खेल्न कोशिश गरेर रिजल्ट आफ्नो पक्षमा पार्छौँ ।’ एनआरटीका कप्तान अञ्जन विष्टले फाइनल जित्नका लागि खेल्ने बताए । उनले दर्शकलाई राम्रो खेल देखाउने प्रतिवद्धता व्यक्त गरे ।
झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले गाउँ–गाउँमा फुटबलका दर्शकर रहेको रहेको बताए । ‘नेपाली फुटबलको भविष्य राम्रो छ । दर्शक पनि गाउँ–गाउँमा छन् । गाउँ–गाउँमा हुने प्रतियोगितामा पनि खचाखच दर्शक आउँछन्,’ उनले भने, ‘फुटबलको विकासका लागि हामी सबैले काम गर्नुपर्दछ । फुटबल क्षेत्रको विकासका लागि झापा कप आयोजना गरेका हौँ ।’