अस्ट्रेलियन राजदूत र वनमन्त्रीबीच भेट
नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी जेन भोल्कले वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।
वन मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र अस्ट्रेलियाबीच नेपालको वन क्षेत्रमा भएको काम र सहयोगबारे छलफल भएको हो।
सो अवसरमा नेपालको खासगरी मध्य पहाडी क्षेत्रमा अस्ट्रेलिया सरकारको सहयोगमा सञ्चालित नेपाल अस्ट्रेलिया सामुदायिक वन विकास कार्यक्रमदेखि हालसम्मको सहयोग र सहकार्यका साथै हाल सञ्चालित वनसम्बन्धी परियोजनाको बारेमा छलफल भएको जनाइएको छ।
मन्त्री महतो र राजदूतबीच नेपालका स्थानीय तहमा जलवायु वित्त परिचालन गर्ने, क्षेत्रीयस्तरमा सञ्चालन हुने जलवायु वित्तमा पहुँचसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम, नेपालमा सञ्चालन भैरहेको इनलिफ्ट कार्यक्रम र अस्ट्रेलियन अवार्ड छात्रवृत्ति लगायतका विषयमा छलफल भएको थियो।
उनीहरूबीच वन विकास तथा व्यवस्थापनमा प्रविधिको प्रयोग, वन डढेलो नियन्त्रण तथा रोकथाम र प्रदूषण नियन्त्रण, जडिबुटी तथा सुगन्धित तेलजन्य वनस्पतिको सम्भावना, मानव वन्यजन्तुबीच द्वन्द्व व्यवस्थापन र अनुसन्धान र विकास विषयमा छलफल भएको थियो।
साथै, आगामी दिनमा नेपाल र अस्ट्रेलियाको वन क्षेत्रमा सहकार्य जारी रहने जनाइएको छ।
Source: Setopati