आज बालाचर्तुदशी, पितृ मोक्षका लागि शतविज छर्ने दिन
अर्जुनधारा । आज बालाचतुर्दशी पर्व, हिन्दु धर्मवलम्बीले झापाको अर्जुनधारा जलेश्वरधाममा बिहान सतबीज छरेर मनाउँदैछन् ।
त्रयोदशीका दिन हिजो बेलुकी दीपदान गरी रातभर जाग्राम बसेर आज बिहानैबाट देशभरका शिवालयमा सतबीज छर्ने परम्परा छ । पूर्वको पशुपतिनाथ नामले चिनिने अर्जनधारामा हजारौं भक्तजनको भिडभाड रहेको मन्दिरका अध्यक्ष नबिन गट्टानिले जानकारी दिनुभयो ।
धाममा मध्यराति १ बजेबाट नै सतबीज (सतबीउ) छर्न सुरु गरिएको छ । बालाचतुर्दशीको अवसरमा सतबीज (सतबीउ) छर्नका लागि आईतबार साँझबाट नै धाम परिसरमा जाग्राम बसेका भक्तजनहरुले १ बजेबाट नै सतबीज छर्न थालेका अध्याक्ष गट्टानिले बताउनुभयो । योग गुरु आचार्य बालकृष्णको समेत धामको दर्शन गर्न आईतवारनै उपस्थितीले भक्तजनमा उर्जा थपेको अध्याक्ष गट्टानिले बताउनुभयो ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनोलाई सतबिजका रुपमा छर्ने गरिन्छ । भगवान शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने जनविश्वास रहँदै आएको छ ।