काठ तस्करी प्रकरण : झापामा सशस्त्रका घुमुवा कुँवरको दबदबा, डीएसपी नेतृत्वमा बन्यो छानबिन समिति
झापा । झापामा सादा पोसाकका (घुमुवा) सशस्त्र प्रहरी सहायक निरीक्षक सिद्धार्थ कुँवर (सिकेन्द्र)को मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको घटना सार्वजनिक भएसँगै सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश कटुवालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । सशस्त्र प्रहरी नम्बर नेपाल नम्बर २ गण झापाले छानबिन समिति गठन गरेको गणका सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
गठित समितिले छानबिनको काम सुरु गरिसकेको बताइएको छ । सशस्त्र प्रहरीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको जालो शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुमार खड्काले तोडेसँगै सशस्त्र प्रहरी विवादमा तानिएको हो । दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी र अर्जुनधारा नगरपालिका–५ बाँसबारीस्थित भित्री सडक खण्डबाट काठसहित ट्याक्टर र अर्जुनधारा–३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानी घुस रकमसहित पक्राउ परेपछि घटना सार्वजनिक भएको थियो । सोही घटनाका विषयलाई लिएर छानबिन समिति बनेको हो । प्रहरीले चिरान काठसहित ट्याक्टर नियन्त्रणमा लिएपछि छुट्टाउन ९५ हजार घुस दिन समेत खोजिएको थियो ।
यस्तो छ घुमुवा कुँवरको गतिविधि
सशस्त्र प्रहरी बल नेपाल कोशी (बराह बाहिनी) का प्रहरी नायव महानिरीक्षक (डीआइजी) अञ्जनीकुमार पोखरेलले जिल्ला हेर्न खटाएका कर्मचारी हुन सशस्त्र प्रहरी सहायक निरीक्षक सिद्धार्थ कुँवर (सिकेन्द्र) । पछिल्लो समयमा घुमुवा कुँवर डीआइजीको आडमा जिल्लाका ठुला व्यापारीसँग सेटिङ मिलाउने र रकम असुल्ने काम गर्दै आएको काठ तस्करी प्रकरणले पुष्टि गरिदिएको छ ।
घुमुवा कुँवर आफैँले तस्करीमा संलग्न साना कारोबारीका सबै कारोबार ठप्प पार्दै ठुला कारोबारीसँग मात्र साँठगाँठ गर्ने र सामान वारिपारि गर्ने प्रबन्ध मिलाउन सहयोग पुर्याउने गरेको स्रोतको दाबी छ । उनले माथिको आदेश भन्दै झापामा कार्यरत सशस्त्र प्रहरीलाई समेत दुःख दिने गरेको बताइएको छ ।
जिल्लाको यसअघि घुमुवा भएर काम गरिसकेका उनले काँकडभिट्टा नाकाबाट भित्रिने र बाहिरिने सामग्रीको लाइन मिलाउने काम गर्दै आएको बताइन्छ । सो बापत उनले मोटो रकम असुल्ने गरेको प्रहरी स्रोतको दाबी छ । पूर्वी नाका काँकडभिट्टामा कार्यरत रहँदा पाँच तारे एचएमसी होटेल सँग साँठगाँठ गर्दै भारु पैसा ओसारपसारमा समेत उनी संलग्न भएका थिए । उनकै कारणले सशस्त्रको जोरसिमल चेक पोस्ट हटेको जानकारहरू बताउँछन् । त्यस बेला उनी जोरसिमल चेक पोस्टको कमान्डर थिए ।
काँकडभिट्टा हुँदा उनको ठुला तस्कर समूहसँग राम्रो सम्बन्ध बनाएको थियो । डीआईजी पोखरेलको विश्वास पात्र बनेका कुँवरको सरुवा सिन्धुपाल्चोक भए पनि उनी राजनीतिक शक्तिको आडमा केहीलाई रुझाएर झापामै बसेका छन् । कुँवर जिल्ला हेर्न सशस्त्र प्रहरी बल शनिश्चरे रोजेर आएका हुन् । आफू प्रहरी पोसाकमै डियुटीमा रहेको बताउँदै आएपनि उनी घुमुवाकै काम गर्दै आइरहेको कारोबारीहरू बताउँछन् ।
झापामा दबदबा जमाएर बसेका उनीसँग सशस्त्र प्रहरीका अधिकृतहरू नै हच्किने गरेका छन् । भद्रपुरबाट केही समय अघि उनलाई मन नपरेका अर्थात् नजराना नबुझाउने व्यापारीको सामानसहितको गाडी नियन्त्रणमा लिएर उनै कुँवरले राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएका थिए । तर, उनलाई नजराना बुझाउने व्यापारीको भने उनले संरक्षण गर्दै आएको सशस्त्र प्रहरीहरूकै भनाइ छ । झापामा कुँवरकै कारण सशस्त्र प्रहरी दुई गुटमा विभाजित छ– एक सशस्त्र प्रहरीले भने– ‘कुँवरकै डरले झापा गणले सादा पोसाकमा समेत सशस्त्र खटाउन सकेको छैन ।’