बुलेटको रिहाइको माग गर्दै मेची राजमार्ग बन्द, यातायात सेवा प्रभावित
झापा । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । सङ्घर्ष समितिले बुलेट किराँती (अन्जेश राई) को रिहाइको माग गर्दै आज र भोलि मेची राजमार्ग बन्दको आह्वान गरेको हो ।
सङ्घर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् । निजी तथा साना सवारीहरू सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आन्दोलनकारीहरू बिहानै सडकमा निस्किएर टायर बालेर सवारीसाधन बन्द गराउँदै हिँडेका छन् ।
सवारी साधन नचल्दा यात्रुहरू प्रभावित बनेका छन् । किराँतीलाई गत पुस १ गते सङ्घर्ष समितिले आह्वान गरेको यातायात बन्दका क्रममा इलामको मेची राजमार्ग खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आगजनीसम्बन्धी मुद्दा दर्ता गरिएको उनलाई हिजो अदालतमा उपस्थित गराएको जनाइएको छ ।